काभ्रेपलाञ्चोक/धुलिखेल अस्पतालले बिरामीलाई सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित बहिरंग सेवा (ओपीडी) को सञ्चालन समय बढाएको छ । बिहान तथा दिउँसोको समयमा कामकाजमा व्यस्त रहने, विशेषगरी कार्यालयमा कार्यरत बिरामीहरूलाई लक्षित गर्दै अस्पतालले नियमित ओपीडी सेवामा तीन घण्टाले विस्तार गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब ओपीडी सेवा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । यसअघि अस्पतालमा ओपीडी सेवा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म मात्र उपलब्ध थियो । विगतमा पनि बिस्तारित सेवा भन्दै अपराह्न ४ देखि ६ बजेसम्म सुरु भएको सेवा कोभिड–१९ लगत्तै सञ्चालन हुन सकेको थिएन ।
यससँगै धुलिखेल अस्पतालले पछिल्ला केही हप्तादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालका निर्देशक प्रा. डा. बलराम मल्लका अनुसार, अन्य दिन कार्यालय समय वा दैनिक व्यस्तताका कारण अस्पताल आउन नसक्ने सेवाग्राहीलाई लक्षित गरी शनिबार बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म बहिरंग सेवा उपलब्ध गराउन थालिएको छ ।

अस्पतालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, अन्य दिन अपराह्न सत्रमा सञ्चालन हुने ओपीडी सेवा (साँझ ४ देखि ६ बजेसम्म) तथा शनिबारको ओपीडी सेवामा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम भने लागू हुने छैन । अस्पतालकै नियमित शुल्क तिरेर विशेषज्ञ सेवा र उपचार गराउन पाइनेछ ।
निर्देशक डा. मल्लका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिन बीमाको नाम दर्ता तथा प्रदान गरिएका सुविधा थैलीबापतको रकम ‘रियल टाइम’ मै स्वास्थ्य बीमा बोर्डको प्रणालीमा इन्ट्री गर्नुपर्ने व्यवस्था छ । अपराह्न ४ बजेपछि बोर्डको सर्भर बन्द हुने तथा बिदाका दिनमा रियल टाइममै इन्ट्री गर्न नमिल्ने भएकाले विस्तारित समय र बिदाका दिनमा बीमा सेवा लागू गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।

हालका लागि सञ्चालन समय विस्तार गरिएको ओपीडी सेवाअन्तर्गत सर्जरी, स्त्री तथा प्रसूति रोग, मेडिसिन र बालरोग विषयका विशेषज्ञ सेवाहरू उपलब्ध हुने अस्पतालले जनाएको छ । सञ्चालन समय बढाइएका यी ओपीडी सेवाहरूमा अतिरिक्त शुल्क नलाग्ने पनि अस्पताल प्रशासनले प्रस्ट पारेको छ ।
दैनिक जीविकोपार्जन र स्वास्थ्य सेवाबीच बिरामीले छनोट गर्न बाधा नपरोस् भन्ने उद्देश्यसहित ओपीडी सेवा साँझसम्म विस्तार गरिएको र शनिबारसमेत सेवा उपलब्ध गराएर समुदायका समसामयिक स्वास्थ्य आवश्यकताहरू पूरा गर्न अस्पताल प्रतिबद्ध रहेको अस्पताल प्रशासनले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित