काभ्रेपलाञ्चोक/ बेथानचोक गाउँपालिका–३, महाकाल डाँडामा स्थानीय स्रोत, परिवारिक लगानी र स्पष्ट व्यवसायिक भिजनमा आधारित एक दिगो पर्यटन उद्यम स्थापित भएको छ। ‘लेकाली होम एण्ड अर्गानिक फार्म स्टे’ ले ग्रामीण नेपालमा एग्रो–टुरिजम र कम्युनिटी–बेस्ड व्यवसायको सम्भावना व्यवहारमा उतारेको छ।
मंसिर २०८२ देखि औपचारिक सञ्चालनमा आएको यो फार्म स्टे लक्जरी–केन्द्रित मोडेलभन्दा फरक, लो–क्यापिटल, हाई–इम्प्याक्ट बिजनेस मोडेल मा आधारित छ। सञ्चालक विशेष तिमल्सिनाका अनुसार यो परियोजनाको केन्द्रमा गाउँमै मूल्य सिर्जना, स्थानीय रोजगारी र अर्गानिक सप्लाइ चेन विकास रहेको छ।
“हाम्रो लक्ष्य होटल खोल्नु मात्र होइन, गाउँको जीवनशैलीलाई आर्थिक अवसरमा रूपान्तरण गर्नु हो,” तिमल्सिनाले बताए।
हाल फार्म स्टेमा अट्याच बाथरुम भएका कोठा, डाइनिङ स्पेस र कमन एरिया सञ्चालनमा छन्, जसको नाइट स्टे क्षमता करिब ३५ जना रहेको छ। क्याम्प फायर र बार्बेक्युका लागि डिजाइन गरिएको खुला स्पेसले समूह–आधारित बुकिङलाई लक्षित गरेको छ, जुन कर्पोरेट र इन्स्टिच्युसनल टुरिजमका लागि पनि प्रयोग गर्न सकिने संरचना हो।
यस उद्यमको प्रमुख प्रतिस्पर्धात्मक लाभ भनेको अर्गानिक–इनहाउस फूड सिस्टम हो। अधिकांश खाद्यान्न आफ्नै करेसाबारीबाट आपूर्ति हुने भएकाले लागत नियन्त्रणसँगै ब्रान्ड ट्रस्ट निर्माणमा मद्दत पुगेको छ। साथै ढिकी, जातो, मदानीजस्ता परम्परागत उपकरणलाई ‘एक्सपेरिएन्स प्रोडक्ट’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।
काठमाडौँ उपत्यकासँगको भौगोलिक नजिकोपन, शान्त वातावरण र मौलिक ग्रामीण अनुभवका कारण यो फार्म स्टे इनबाउन्ड र डोमेस्टिक दुवै बजार लक्षित गन्तव्यका रूपमा विकसित हुँदैछ। सञ्चालनको पहिलो दुई महिनामै २०० भन्दा बढी पाहुना पुग्नुले यसको बजार सम्भावनालाई पुष्टि गरेको छ।
तिमल्सिनाका अनुसार पाहुनाबाट प्राप्त फिडब्याक सकारात्मक रहे पनि सडक र पूर्वाधार सुधार नै स्केलेबिलिटीका लागि मुख्य चुनौती बनेको छ। उनले अनुदानमुखी नीतिभन्दा सहुलियत कर्जा, पूर्वाधार लगानी र निजी–सरकारी सहकार्य मा जोड दिनुपर्ने बताए।
“स्पष्ट भिजन र व्यवसायिक योजना भएका उद्यमलाई कर्जा पहुँच सहज बनाइए ग्रामीण पर्यटन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा थप योगदान दिन सक्छ,” उनले भने।
करिब एक रोपनी क्षेत्रफल मा फैलिएको यो फार्म स्टे पुराना संरचनाको पुनःप्रयोग (adaptive reuse) गरेर सञ्चालनमा ल्याइएको हो, जसले प्रारम्भिक लगानी लागत उल्लेख्य रूपमा घटाएको छ। परिवारका चार सदस्यको सक्रिय सहभागितामा सञ्चालन भइरहेको यस स्टार्टअपले लो–रिस्क, कम्युनिटी–रुटेड र दिगो उद्यम मोडेल प्रस्तुत गरेको छ।
‘लेकाली होम एण्ड अर्गानिक फार्म स्टे’ आज केवल एक पर्यटन सेवा होइन, ग्रामीण नेपालमा स्टार्टअप सोच, स्थानीय मूल्य शृंखला र दिगो व्यवसायिक अभ्यास एकसाथ सम्भव छ भन्ने उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित