काभ्रे–१ मा आधारभूत विकासको सवाल उठाउँदै चुनावी मैदानमा अमित लामा

काभ्रेपलाञ्चोक / आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले काभ्रे–१ मा विकासको बहसलाई चुनावी मुद्दाको केन्द्रमा ल्याएका छन्। उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत आवश्यकतामै विकास अड्किएको भन्दै मतदातालाई ‘विकास गर्ने कि ठप्प पार्ने’ बीच निर्णय गर्न आह्वान गरेका छन्।

नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नं. १ समन्वय कमिटी काभ्रेद्वारा पनौतीमा आयोजित निर्वाचन केन्द्रित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा बोल्दै लामाले सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता क्षेत्रमा देखिएको असमान विकासलाई चुनावी एजेन्डा बनाएका हुन्।

उनले काभ्रे क्षेत्र नं. १ मा एमाले पराजित भएपछि विकास निर्माणको गति सुस्त भएको दाबी गर्दै भने, “जहाँ एमाले जित्छ, त्यहाँ विकासले गति लिन्छ। जहाँ एमाले रोकिन्छ, त्यहाँ विकास पनि रोकिन्छ।” काभ्रे–२ र काभ्रे–१ को तुलना गर्दै उनले एमाले नेतृत्वमा रहेको क्षेत्रमा विकासले स्पष्ट फड्को मारेको दाबी गरे।

Lahachhap

एमाले नेता गोकुल बास्कोटाको कार्यकाललाई उदाहरण दिँदै लामाले पछिल्लो आठ वर्षमा काभ्रेको विकासमा देखिएको परिवर्तन जनताले प्रत्यक्ष महसुस गरिरहेको बताए। यही आधारमा पार्टीले आफूलाई काभ्रे–१ मा उम्मेदवार बनाएको उनको भनाइ छ।

“यो चुनाव केवल सांसद छान्ने मात्र होइन, काभ्रेको विकासको दिशा तय गर्ने चुनाव हो,” लामाले भने, “जनताले अनुभूति गर्ने र सिंहदरबारले गम्भीरतापूर्वक हेर्ने खालको विकास काभ्रे–१ मा गरिनेछ।”

कार्यक्रम इन्द्रमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलामा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्व केन्द्रीय सदस्य रेशम लामा, नविना लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, पूर्वमन्त्री चन्द्र लामा तथा पनौती, नमोबुद्ध, खानीखोला, तेमाल र चौरीदेउरालीका एमाले नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments