तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि काठमाडौं विश्वविद्यालयमा

काभ्रेपलाञ्चोक/तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हुने भएको छ। प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्‌को आयोजनामा हुन लागेको हो ।

प्रतियोगिताको सह-आयोजकको रुपमा काठमाडौं विश्वविद्यालय र नेपाल इन्टरनेशनल इभेन्ट मेनेजमेन्ट प्रालि रहेका छन् ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक डा.गोकुल केसीले प्रतियोगितामा देशभरका ८ वटा विश्वविद्यालयले सहभागिता जनाउने बताए ।

प्रतियोगितामा काठमाडौं विश्वविद्यालयसहित त्रिभुवन, सुदूरपश्चिम, मध्यपश्चिम पूर्वाञ्चल, गण्डकी, पोखरा र कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा नौ वटा विश्वविद्यालय सहभागी हुने तयारी भए पनि अन्तिम समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयले सहभागिता जनाउन असमर्थता जनाएको छ।

प्रतियोगितामा भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल र एथलेटिक्सका खेल हुनेछन् । भलिबलमा पुरुष टीम मात्रै सहभागी हुनेछन् भने अन्य खेलमा महिला र पुरुष सहभागी हुनेछन् ।

प्रतियोगितामा आठ विश्वविद्यालयका २ सय ७९ वना खेलाडीले सहभागिता जनाउनेछन् । विश्वविद्यालय खेलकुदमा यसपटकदेखि बास्केटबल समावेश गरिएको हो। यसअघिका दुई संस्करणमा चार वटा खेलमात्रै सहभागी गराइएको थियो।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमल भट्टराईले काठमाडौं विश्वविद्यालयको अग्रसरताकै कारण तेस्रो संस्करण तोकिएकै मितिमा हुन लागेको बताए । आलोपालो प्रणाली अनुसार यसपटकको प्रतियोगिता कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गर्नुपर्ने थियो ।

तर, पर्याप्त बजेट नभएका कारण प्रतियोगिता आयोजना गर्न उक्त विश्वविद्यालयले असमर्थता जनाएपछि काठमाडौं विश्वविद्यालयको आयोजनामा प्रतियोगिता हुन लागेको उनले बताए ।

परिषद्‌का प्रतियोगिता विभाग प्रमुख मिनकुमार शर्माले प्रतियोगिताका लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको बताए । विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो संस्करण काठमाडौंस्थित दशरथ रंगशालामा र दोस्रो संस्करण पोखरामा भएको थियो । विगतका संस्करण भन्दा यसपटक अझै भव्य बनाइने काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक गोकुल केसीले बताए।

देशभरका विश्वविद्यालयका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ३ सय भन्दा बढीको उपस्थिति रहने प्रतियोगिताले काभ्रेको पर्यटकीय नगरी धुलिखेलको पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिइएको केसीको भनाई थियो ।

प्रतियोगिता सञ्चालनका लागि आजै परिषद् र काठमाडौं विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ। प्रतियोगिता माघ २३ गतेसम्म सञ्चालन हुनेछ । सहभागीहरूका लागि धुलिखेलमै बस्ने व्यवस्था मिलाइएको छ भने उनीहरूलाई केयु, धुलिखेल अस्पताल लगायत घुमाउने व्यवस्था पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments