काठमाडौँ/ प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते हुने सन्दर्भमा राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकतासहित समावेश गर्न महिला, कानुन र विकास मञ्च तथा सेन्टर फर रिप्रोडक्टिभ राइट्सले वकालत अभियान सञ्चालन गरेका छन्।
उक्त अभियानअन्तर्गत FWLD र CRR का प्रतिनिधिहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा पुगेर नेतृत्वलाई वकालत पत्र बुझाएका छन्। वकालत पत्रमार्फत दलहरूको घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गरिएको छ।



FWLD र CRR ले राजनीतिक दलहरूको घोषणापत्रमा समावेश हुनुपर्ने मुख्य प्रतिबद्धतामा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुन, विशेषगरी गर्भपतनसँग सम्बन्धित विद्यमान कानुनमा आवश्यक परिमार्जन र सुधार गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्। साथै, प्रजनन स्वास्थ्यका सम्पूर्ण सेवा—विशेषगरी परिवार नियोजन र सुरक्षित गर्भपतन सेवाहरूलाई सुनिश्चित, पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाउन माग गरिएको छ।
यसैगरी किशोर–किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बृहत यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयन तथा प्रसूति सेवा र सुरक्षित मातृत्व सेवाहरूलाई स्थानीय तहसम्म विस्तार गरी सर्वसुलभ र गुणस्तरीय बनाउने विषयलाई पनि घोषणापत्रमा समेट्न आग्रह गरिएको छ।

संस्थाहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई लोकतान्त्रिक शासन र सामाजिक न्यायको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै, आगामी निर्वाचनमार्फत बन्ने सरकारको नीति तथा कार्यक्रममै यी विषयहरू स्पष्ट रूपमा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिएका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित