काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

काठमाडौँ/सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ । 

गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहनुभएका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ । म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ । अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ । म जस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउने छु ।” आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो । 

“सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु । जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु”, सभापति थापाले भन्नुभयो । उहाँले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments