१८ सय किलोमिटर ‘राइड टु लाइफ’ सम्पन्न: क्यान्सर पीडितका लागि आशा बोकेको साइकल अभियान झुलाघाटमा समापन

संकलित रकम धुलिखेल अस्पतालमार्फत आर्थिक रूपमा विपन्न क्यान्सर पीडितहरूको उपचारमा सही तरिकाले प्रयोग हुने विश्वास व्यक्त

धुलिखेल/बैतडी– क्यान्सर प्रभावित व्यक्तिहरूको उपचारका लागि आर्थिक सहयोग संकलन र क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘Cycling for Cancer Survival Support – Ride to Life 2082’ कार्यक्रमको सफल समापन बैतडीको झुलाघाटमा गरिएको छ।

चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म फैलिएको करिब १८०० किलोमिटर लामो, एक महिने साइकल यात्रा क्यान्सरविरुद्धको संघर्षमा आशा र ऐक्यबद्धताको सशक्त सन्देश बनेको आयोजकहरूले बताएका छन्। उक्त अभियान क्यान्सर विजेता हर्क लामा र कविता चित्रकारको परिकल्पनामा सुरु गरिएको हो।

धुलिखेल अस्पतालका प्रा. डा. सुमन राज ताम्राकारको सञ्चालनमा भएको कार्यक्रममा हर्क लामाले साइकल यात्राको उद्देश्य र भावनात्मक पक्षबारे प्रकाश पार्दै क्यान्सर पीडितहरू एक्ला नभएको सन्देश दिनुभयो। क्यान्सर विजेता कविता चित्रकारले आफ्नो रोगसँगको संघर्ष र साइकल यात्राको अनुभव साझा गर्दै प्रेरणादायी मन्तव्य दिनुभयो। लिड राइडर डा. विकास पराजुलीले अभियानको अवधारणा, संकलित उपचार कोषको पारदर्शी उपयोग विधिबारे जानकारी गराउनुभयो।

Lahachhap

समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौडेल, सहायक प्रजिअ कृष्ण थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवर, प्रहरी प्रहरी नायब उपरीक्षक दिपक कुमार राय, बैतडी अस्पतालका मेडिकल अफिसर डा. प्रविन उपाध्याय, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र थापालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

उनीहरूले अभियानका लागि QR मार्फत तत्काल १५ हजार रुपैँया सहयोग गर्नुका साथै सशस्त्र प्रहरी बल टोलीले चिया र खाजाको आत्मीय आतिथ्य पनि प्रदान गरेका थिए ।

साथै लिड राइडरहरू डा. विकास पराजुली, राजा महर्जन, केशव केसी, विकास महर्जन, मचाकाजी महर्जन तथा डकुमेन्ट्री टिमका सदस्यहरू पनि कार्यक्रममा सहभागी थिए।

Lahachhap

समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले चुनौतीपूर्ण भौगोलिक अवस्था पार गर्दै अभियान सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण टोलीलाई बधाई दिँदै संकलित रकम धुलिखेल अस्पतालमार्फत आर्थिक रूपमा विपन्न क्यान्सर पीडितहरूको उपचारमा सही तरिकाले प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो।

‘Ride to Life’ अभियान केवल साइकल यात्रा मात्र नभई क्यान्सर पीडितप्रति सहानुभूति, समर्थन र सामूहिक उत्तरदायित्वको प्रतीक बनेको सहभागीहरूको भनाइ छ। अभियानमार्फत संकलित सहयोग र आगामी कार्यक्रमसम्बन्धी विस्तृत जानकारी Cycle Culture Community Nepalको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइएको छ।

Ride to Life सम्पन्न भए पनि, करुणा र साथको यात्रा निरन्तर जारी रहने आयोजकहरूले जनाएका छन्।

सम्बन्धित समाचारहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments