आज भारतले ७७ औँ गणतन्त्र दिवस मनाउँदैछ। सन् १९४७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि १९५० जनवरी २६ मा नयाँ संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ।
राष्ट्रपति द्रौपदी मुर्मुले झण्डोत्तोलन गरेसँगै शुरु भएको समारोहमा युरोपेली संघका दुई शीर्ष नेताहरु उर्सुला भान डेर लेयन र एन्टेनियो कोस्टा मुख्य अतिथिको रूपमा सहभागी भएका छन्। परेडमा भारतीय सेनाका अत्याधुनिक मिसाइल प्रणाली, स्वदेशी प्रविधिमा निर्मित ट्यांक र तेजस लडाकु विमान प्रदर्शन गरिएको छ।
यो पटकको परेडमा नारी शक्तिलाई विशेष प्राथमिकता दिँदै सुरक्षा फौजका महिला दस्ताहरूले मार्चपास गरेका छन् । साथै, विभिन्न राज्यका झाँकीहरूले भारतको कला र संस्कृतिलाई झल्काएका छन् । कर्तव्यपथमा हजारौँको संख्यामा उपस्थित नागरिकहरूले उत्साहका साथ प्रदर्शनको अवलोकन गरिरहेका छन् ।
दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबीचको ऐतिहासिक, बहुआयामिक र रणनीतिक सम्बन्ध भौगोलिक निकटताभन्दा पनि साझा सभ्यता, साँस्कृतिक सामीप्यता र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको स्पष्ट पारेका छन्।
नेपालसँगको सम्बन्धलाई भारतको ‘छिमेकी पहिलो नीति’को केन्द्रीय स्तम्भका रूपमा चित्रण गर्दै राजदूत श्रीवास्तवले दुवै देशबीच सहकार्य र साझेदारीको लामो इतिहास रहेको उल्लेख गरेका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित