काठमाडौँ / बागमती प्रदेशबाट भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहकार्यबाट उम्मेदवार बनेका दुई जनाले विजय हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार महिला समूहबाट गीता देवकोटा र अन्य समूहबाट प्रेमप्रसाद दंगाल राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका हुन् ।
यस निर्वाचनमा नेकपा र नेपाल मजदुर किसान पार्टीसमेतका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो । महिला समूहअन्तर्गत देवकोटाले प्रदेश सभातर्फ ६० मतका आधारमा ३ हजार १८० मतभार प्राप्त गरिन् । स्थानीय तहतर्फ १६१ मतका आधारमा ३ हजार ५९ मतभार पाउँदा उनको कुल मतभार ६ हजार २३९ पुगेको छ ।
अन्य समूहअन्तर्गत दंगालले प्रदेश सभातर्फ ५९ मतका आधारमा ३ हजार १२७ मतभार हासिल गरे । स्थानीय तहतर्फ १६२ मतका आधारमा ३ हजार ७८ मतभार प्राप्त गर्दा उनको कुल मतभार ६ हजार २०५ कायम भयो ।
महिला समूहमा नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार ल्याए भने नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभारमा सीमित भए ।
बागमती प्रदेशतर्फको निर्वाचनमा प्रदेश सभाका ८९ सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २२९ जनासहित कुल ३१८ जनप्रतिनिधिले मतदानमा भाग लिएका थिए । यस क्रममा प्रदेशसभातर्फ ४ हजार ७१७ र स्थानीय तहतर्फ ४ हजार ३५१ गरी जम्मा ९ हजार ६८ मतभार खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित