काठमाडौँ / लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा काँग्रेस-एमाले-जसपा गठबन्धनका उम्मेदवारहरूले तीनै पदमा विजय हासिल गरेका छन् । आइतबार साँझ मतगणना सम्पन्न भएसँगै निर्वाचन परिणाम सार्वजनिक भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार महिला समूहअन्तर्गत नेकपा एमालेकी रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । उनले कुल ६ हजार ३३० मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मतभार प्राप्त गरे ।
अपाङ्गता समूहबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ ले ५ हजार ३२२ मतभारसहित सफलता हात पारे । उनका प्रतिद्वन्द्वी नेकपाका सजन विकले १ हजार ६०१ मतभार प्राप्त गरे ।
अन्य समूहअन्तर्गत पनि काँग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । उनले ५ हजार ९७७ मतभार प्राप्त गर्दा माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए । राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरेका छन् ।
यससँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीनै सदस्य काँग्रेस-एमाले-जसपा गठबन्धनबाट चयन भएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित