विशेषगरी सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत हुने दुरुपयोग हालको प्रमुख चुनौतीका रूपमा औंल्याइयो
काभ्रेपलाञ्चोक/ प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नं. १ र २ का उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच धुलिखेलमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल सम्पन्न भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले निष्पक्ष, मर्यादित र भयरहित निर्वाचनका लागि आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा एकमत व्यक्त गरे। विशेषगरी सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत हुने दुरुपयोग हालको प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं क्षेत्र नं. २ का निर्वाचन अधिकृत न्यायाधीश प्रेमप्रसाद न्यौपानेले निर्वाचन आचारसंहिताका मुख्य प्रावधानबारे स्पष्ट पारे।
त्यस्तै, क्षेत्र नं. १ का निर्वाचन अधिकृत जिल्ला न्यायाधीवक्ता टिकाभूषण घिमिरेले सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारीबारे जानकारी गराए।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था गर्दै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्धता जनाए।
छलफलका क्रममा सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार, गलत सूचना र आचारसंहिता उल्लंघनलाई समयमै नियन्त्रण गर्नुपर्नेमा सहभागीहरूको ध्यानाकर्षण गराइएको थियो।
नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाँईले राष्ट्रिय झण्डाको अनुचित प्रयोग नगर्न आग्रह गर्दै कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्था सुदृढीकरण र कार्यक्रम स्थल चयनमा सहमति आवश्यक रहेको बताए।
नेकपा एमालेका प्रतिनिधि एवं जिल्ला कमिटी सदस्य नवराज ढकालले भौतिकभन्दा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघन बढ्दै गएको उल्लेख गर्दै प्रविधिको सूक्ष्म निगरानी अपरिहार्य रहेको धारणा राखे।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रविण ढकाल, जीएन सापकोटा लगायतले सरकारी सवारीसाधनको प्रयोग पूर्ण रूपमा रोक्नुपर्ने माग गरे।
समावेशी समाजवादी पार्टीका उम्मेदवार विनोद लामा (कोनिका) ले प्रचारप्रसारका क्रममा हुने विभेद अन्त्य गर्न आग्रह गरे भने नेमकिपाकी उम्मेदवार मुना तामाङले आर्थिक पारदर्शिता र आचारसंहिताको पूर्ण पालनामा जोड दिइन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित