काभ्रेमा स्वतन्त्र उम्मेदवारका फरक–फरक चुनाव चिह्न सार्वजनिक

काभ्रेपलाञ्चोक/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ। राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारले आ–आफ्नो दलको आधिकारिक चिह्न पाएका छन् भने स्वतन्त्र उम्मेदवारलाई उनीहरूले छनोट गरेका विशेष चिह्न प्रदान गरिएको हो।

काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ३ जना र क्षेत्र नम्बर २ मा ८ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। स्वतन्त्र उम्मेदवारका चिह्न भने निकै रोचक र फरक–फरक देखिएका छन्, जसमा प्रेसर कुकरदेखि खसीको टाउकोसम्मका चिह्न समावेश छन्।

निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको भए पनि काभ्रेमा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काभ्रे क्षेत्र नम्बर १ मा १८ जना र क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवारहरूमा जीवन लामाले क्याप, युवराज चौलागाइँले ड्रम सेट र राजेशकुमार श्रेष्ठले आँखीझ्याल चुनाव चिह्न पाएका छन्।

त्यसैगरी, क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार आशा तामाङले भँगेरा, उमेश थापाले ठेकी, केशवराज तिमल्सिनाले आँप, गणेशप्रसाद अधिकारीले आँखीझ्याल, लेनिन विष्टले कप र प्लेट, विष्णुकुमार श्रेष्ठले प्रेसर कुकर, सीताराम मैनालीले खसीको टाउको र डिल्लीप्रसाद न्यौपानेले मसी चुनाव चिह्न प्राप्त गरेका छन्।

फरक र प्रतीकात्मक चिह्नसहित स्वतन्त्र उम्मेदवारको उपस्थितिले काभ्रेमा यसपटकको निर्वाचनलाई थप रोचक बनाउने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments