काभ्रेपलान्चोक /नेपाल डेरी एशोसिएशनको २७औँ वार्षिक साधारण सभा, स्थापना दिवस तथा ९औँ राष्ट्रिय महाधिवेशन काभ्रेपलान्चोकको पनौती नगरपालिका–९, नौबिसे फाँटस्थित रैथाने भिल्लामा सम्पन्न भएको छ।
कार्यक्रम वाग्मती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता र एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पौडेलले पशुपालन र कृषि नेपाली अर्थतन्त्रका प्रमुख आधार भएको उल्लेख गर्दै संघीय सरकारले तय गरेका नीतिहरूलाई प्रदेश तहमा थप व्यवस्थित, अनुदानमुखीभन्दा उत्पादनमुखी बनाउने प्रयास भइरहेको बताए।
उनले दुग्ध उत्पादनमा वार्षिक गिरावट र आयात वृद्धिले थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै उत्पादन वृद्धि गर्न सरकार कृषक र व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले देशको दुग्ध तथा डेरी उद्योगको वर्तमान अवस्था, बजार संरचना, मूल्य निर्धारण, कच्चा दूध संकलन र लगानी वातावरणलगायत विषयमा व्यवसायी र कृषकहरूले भोग्दै आएका समस्याहरू प्रस्तुत गरे। उनले दुग्ध क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, वित्तीय पहुँच र सरकारी सहजीकरण आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, पशु सेवा विभाग हरिहरभवनका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, व्यवसायी अमरबहादुर कुँवर, सुमित केडियालगायतले दुग्ध क्षेत्रको चुनौती, सम्भावना र सरकारसँगको अपेक्षाबारे धारणा राखे। वक्ताहरूले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र कृषक–उद्योग सहकार्यका लागि समन्वय र सहजीकरण अपरिहार्य रहेकोमा जोड दिए।
वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाको स्वागत मन्तव्यसँगै सम्पन्न कार्यक्रममा दुग्ध क्षेत्रको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा सहयोगीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
यसै अवसरमा सम्पन्न ९औँ राष्ट्रिय महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। निर्वाचन समितिका संयोजक प्रल्हाद महतले नवनिर्वाचित समितिको घोषणा गर्दै सपथ गराए।
नयाँ कार्यसमितिअनुसार अध्यक्षमा प्रल्हाद दाहाल पुनः निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा दिपप्रसाद धमला चयन भएका छन्। उपाध्यक्षहरूमा मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी र रामभक्त दाहाल रहेका छन्। महासचिवमा हेमचन्द्र खनाल, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा शिवलाल भुषाल, उप–महासचिवमा विजयप्रसाद चौरासिया, सह–सचिवमा रमेश सञ्जेल र सह–कोषाध्यक्षमा आशिषकुमार बुढाथोकी चयन भएका छन्।

यसैगरी केन्द्रीय सदस्यहरूमा शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाइवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोइराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त रहेका छन्।
एशोसिएशनले आगामी कार्यकालमा दुग्ध उत्पादन वृद्धि, आयात प्रतिस्थापन, कृषकको आय सुनिश्चितता र स्वदेशी डेरी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने जनाएको छ।
सोही साधारण सभा तथा महाधिबेशनको अवसर पारी पूर्व सचिव डा. बंशी शर्मालाई राष्ट्रिय सम्मान गरेको छ । पत्रकारितामार्फत डेरी क्षेत्रलाई विभिन्न माध्यमबाट प्रचार प्रसार गरी सहयोग पुर्याएकोमा उत्कृष्ट संचारकर्मी पुरस्कार नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनालाई प्रदान गरिएको छ ।
त्यस्तै सञ्चारमाध्यमका रुपमा काभ्रेबाट प्रकाशित हुने नव क्षितिज साप्ताहिक सम्मानित भएको छ । उक्त पत्रिकाका सम्पादक नवराज बजगाईले पुरस्कार ग्रहण गरेका थिए ।

त्यस्तै दीर्घसेवा सम्मानबाट सुरेशबहादुर श्रेष्ठ, उत्कृष्ट प्रदेश समितिबाट सुदुरपश्चिम, जिल्ला समितिबाट धनकुटा, डेरीहरुका तर्फबाट हरि नेपाल, विष्णु बोहोरा, चन्द्रबहादुर गुरुङ, प्रकाश मुडभरी, उत्तमबहादुर चन्द, रविन्द्र हुमागाई, कुलप्रसाद धमला सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुलाई प्रमाणपत्र सहित प्रमुख अतिथी मन्त्री पौडेल, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, अध्यक्ष प्रल्हाद दाहाल लगायतले सम्मान गरेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित