नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् ।
काठमाडौँ/तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ ।
करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् ।
यस अवसरमा आइतबारदेखि नै राजधानीको टँुडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
उहाँले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तामाङ समुदायको महान पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।”
राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
काठमाडौँ/उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक मनाउने महान पर्व सोनाम ल्होसार २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको हाम्रो देशलाई एकताको सुत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामथ्र्य नेपाली पर्वहरुमा निहित रहेको उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशामा उहाँले भन्नुभएको, “यस पर्वले नयाँ वर्षको आगमनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई पुनःस्मरण गराउँदै पुस्तादेखि पुस्तासम्म निरन्तरता दिने अमूल्य अवसर प्रदान गर्दछ, सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदानप्रदान जस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँछन् ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित