काठमाडौँ / नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका टिकटमा सभापति गगन थापाको हस्ताक्षर हुने भन्दै सबै नेताहरू मिलेर सहमतिमा नै उम्मेदवार चयन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार विश्वकर्माले उक्त आह्वान गरेका हुन् । निर्वाचन आयोगमा आधिकारिकताको विवाद हुँदा पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट उपस्थित भएका विश्वप्रकाश शर्मा र गगन थापाको पक्षमा खुलेका हुन् ।
‘हिजो भदौ २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ । हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नु भयो, बाँकीमा अब गगन थापाले गर्नुहुन्छ । सबैको सहमतिमा उम्मेदवार चयन गरौँ, ’विश्वकर्माले भनेका छन्, ‘उत्साहका साथ निर्वाचनमा काँग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ । यसका लागि देउवा, गगन, पूर्णबहादुर, शेखर एक ठाउँमा अहिल्यै बस्नुस् । घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।’
पार्टीमा झगडा गर्न नहुने पनि विश्वकर्माको भनाइ छ । देउवा पक्षबाट सर्वोच्च अदालतमा रिट दायर भएको अवस्थामा विश्वकर्माले झगडा गर्न नहुने बताएका हुन् । ‘विवाद अब आयोग मात्रै होइन अदालत पुगिसक्यो । अब झगडा अदालतमा छोडौँ । परिणाम जे आउँछ मान्न तयार बनौँ । हिजो भदौ २४ मा घर छोड्न तयार भयौँ ज्यानका लागि, आज घमण्ड त्याग्न तयार बनौँ पार्टीका लागि, ’उनले भनेका छन् ।
पार्टी एक बनेमा मात्रै काँग्रेसका उम्मेदवारले आगामी निर्वाचनमा जित हासिल गर्न सक्ने विश्वकर्माको भनाइ छ ।
पुस २०-३० मा आयोजना भएको काँग्रेसको दोस्रो महाधिवेशनबाट गगन थापा सभापति बनेका छन् । त्यसपछि देउवा समूहका नेताहरू निर्वाचन आयोगदेखि अदालतसम्म पुगेका छन् ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित