काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

वडा नं ५ का वडाअध्यक्ष विजय राना मगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रुपमा मल्चिङ विधिबाट कफीखेती सुरु गर्नुभएको छ ।

धुलिखेल / आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् ।

गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाको सहयोगमा वडा नं ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका रुपमा खेती भइरहेको छ । वडा नं ५ का वडाअध्यक्ष विजय राना मगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रुपमा मल्चिङ विधिबाट कफीखेती सुरु गर्नुभएको छ ।

मल्चिङ विधिबाट खेती गर्दा मल नबगाउने, झार नउम्रिने र ओसिलोपन व्यवस्थापन हुने भएकाले यो प्रविधि उपयोगी भएको उहाँले बताउनुभयो । त्यससँगै थोपा सिँचाइ प्रविधि पनि प्रयोग गरिएको छ । यसरी खेती गर्दा चाँडो फल लाग्ने र त्यो गुणस्तरीय हुने उहाँले बताउनुभयो ।

महाभारत गाउँपालिका–२ सोक्तेलका कफी उत्पादक किसानहरुले पनि छहारी व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । छहारी व्यवस्थापनबाट बिरुवा निरोगी हुने र चेरी पनि गुणस्तरको हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाले कफी उत्पादन र प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको सहयोग र समन्वयमा समुदायमा आधारतिर ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरेको गाउँपालिकाका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताउनुभयो ।

गाउँपालिकाको तीन हजार २०० रोपनीमा कफीको व्यावसायिक कफीखेती विस्तार भइरहेको छ । विसं २०७८ सालदेखि यहाँका कफी किसान, कृषि सहकारी र समूहलाई गरेर तीन लाख ३१ हजार भन्दा बढी विरुवा वितरण गरिसकेको महाभारत गाउँपालिकाले जनाएको छ । पालिकाबाट बोट वितरणका लागि ७८ हजार बोट उत्पादन भएका छन् ।

गाउँपालिकाले किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट रु २० का दरले अनुदान दिने व्यवस्था गर्दै आएको छ । सबैजसो किसान कफी खेतीतर्फ आकर्षित हुन थालेपछि पालिकाले अनुदानमा कफीको बोट वितरण र आवश्यक उपकरण वितरण गर्नाका साथै अनुदानमा प्रशोधन उपकरण वितरणलाई पनि जोड दिँदै आएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments