काभ्रेपलाञ्चोक /नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवनमा देखिएका विशेष परिस्थितिअनुसार गरिएका निर्णयहरूले पार्टीलाई थप ऊर्जावान र गतिशील बनाएको जनाएको छ।
कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिका सभापति तीर्थ लामाको हस्ताक्षरमा सोमबार जारी भएको प्रेस विज्ञप्तिमा विशेष महाधिवेशनको वैधानिकतालाई निर्वाचन आयोगले दिएको वैधानिकताप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
विज्ञप्तिमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि नवीन कांग्रेस निर्माणको जग बसाल्न दूरदर्शी र साहसी नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। साथै, नवीन कांग्रेस निर्माणको साहसिक यात्रामा साथ, समर्थन र सहयोग गर्ने सम्पूर्ण साथीहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।
नेपाली कांग्रेसको आधारभूत सिद्धान्त फरक मत र फरक विचारको सम्मान गर्नु रहेको उल्लेख गर्दै आन्तरिक विवादलाई विधिसम्मत र न्यायोचित ढंगले निरूपण गरिनुपर्नेमा जोड दिइएको छ।
व्यक्तिगत स्वतन्त्रताको आधारमा फरक धारणा राख्ने अधिकार भए पनि आन्तरिक विवाद समाधान भइसकेपछि पार्टी, झण्डा र रूख चिन्हमा गोलबद्ध भई देश र जनताप्रति समर्पित हुनु प्रत्येक कांग्रेस सदस्यको धर्म भएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीका सदस्यहरूबीच आपसी सम्मान, समेट्ने र संरक्षण गर्ने दायित्व नेतृत्वको मुख्य कर्तव्य भएको उल्लेख गर्दै विशेष महाधिवेशनका क्रममा भएका तिता–मिठा कुरालाई बिर्सेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकताबद्ध भएर लाग्न कांग्रेसले आह्वान गरेको छ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले पार्टीको समग्र हित र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै अघि बढ्न सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गर्दै विज्ञप्तिको अन्त्यमा ‘जय नेपाल’ उल्लेख गरेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित