धुलिखेल खानेपानी

बाढीपहिरोले धुलिखेल खानेपानी प्रणालीमा साढे ३ करोड रूपैंयाको क्षति, पानी सुचारूका लागि बहुप्रयास


धुलिखेल/ गत असोजको बाढीपहिरोले रोशी खोलाको मुहान पनौती-१२ (साविक कलाँती भुमेडाँडा)देखि दुम्जा, सिन्धुलीसम्मको रोशी जलाधारक्षेत्रलाई तहसनहस पार्‍यो । बाढीपहिरोले विगतमा भन्दा यस पटक काभ्रेपलाञ्चोक जिल्लाको विकासलाई नै क्रमभङ्ग पार्ने अवस्था ल्यायो ।

सबैभन्दा बढी क्षति खानेपानीका संरचनाहरूमा पुग्यो । त्यसमा टोलवस्तीका स-साना प्रणालीदेखि अर्बौं लगानी भएका ठुला खानेपानी प्रणालीहरू पनि क्षतबिक्षत भए । जिल्लाभरको खानेपानी प्रणाली क्षतिमध्ये जर्मन दाताले बनाइदिएको धुलिखेल खानेपानी प्रणाली र एशियाली विकास बैंकको ऋणमा अधुरो रहेको काभ्रे उपत्यका खानेपानीमा नसोचेको क्षति पुगेको छ ।

जिल्ला सदरमुकाम धुलिखेलको ‘लाइफ लाइन’ मानिने र स्थानीयले ‘जर्मन खानेपानी’ का रूपमा चित्रण गर्दै आएको धुलिखेल खानेपानी प्रणालीको मुहानक्षेत्र खारखोलास्थित संरचनाहरू ध्वस्त भएका छन् । धुलिखेलको प्रशोधन केन्द्रसम्म लगिएको प्रसारण पाइपलाइन भालेश्वर दोभानसम्मको धेरै ठाउँमा क्षति भएका छन् ।

हुनपनि घण्टाकै १ लाख लिटर पानी उपभोग गर्दै आएका धुलिखेलवासी यतिखेर दिनको २ लाख लिटर पानीमा गुजारा चलाउँदैछन् । तत्कालको अभाव टार्नका लागि ट्यांकर र नगरपालिकाको दमकलले पानी टोल-टोलमा वितरण गरिरहेको भएपनि अब नथेग्ने अवस्थामा पुगेको देखिन्छ ।

धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव श्यामदर्शन गणेजुका अनुसार खारखोला मुहानबाट पानी आउन बन्द भएपछि डिपबोरिङबाट १ लाख लिटर तथा जंगलका विभिन्न स्रोतबाट १ लाख गरेर २ लाख लिटर मात्र पानी वितरण भइरहेको हो ।

सचिव गणेजुका अनुसार समितिका पदाधिकारीहरू असोज १३ गतेबाटै मुहानक्षेत्रका स्थानीय तथा पनौती वडा नं १२ का वडा अध्यक्ष जयराम केसी सहितका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख रामशरण भण्डारीसँग निरन्तर वार्ता र छलफलमा बसिरहेको अवस्था छ ।

मुहानक्षेत्रका करिब ३ सय घरधुरीलाई पानीको व्यवस्थापन गरेरमात्र लैजान भनेको हुँदा खानेपानी सुचारू गर्न नसकिएको उनको भनाई छ, ‘खानेपानी सुचारू गर्न करोडौं रूपैंया जुटाउनु पर्ने अवस्थामा समिति रहेकोले दाता खोजिदिन धुलिखेल नगरपालिकालाई अनुरोध गरिरहेका छौं । यस्तो परिस्थितिमा मुहानक्षेत्रका स्थानीयको माग सम्बोधन गर्न सरकारले नै आवश्यक पहल गरिदिए राम्रो हुने थियो’, गणेजुले अपेक्षा गरे ।

सचिव गणेजुले भनेझैं धुलिखेका उप-प्रमुख निराजन जङ्गम पनौती वडा नं १२ का वडाध्यक्ष, पनौती नगर प्रमुख र पूर्व प्रदेश मन्त्री बसुन्धरा हुमागाईंसँग निरन्तर संवाद र वार्तामा रहेका छन् । उता, नगर प्रमुख अशोककुमार ब्याञ्जु पनि विभाग, मन्त्रालय, मन्त्रीहरुका साथै दाता जर्मन सहयोग निकाय(जिआइजी) र जर्मन राजदुतलगायतसँग भेटघाटमा व्यस्त देखिन्छन् ।

नगरप्रमुखको यतिखेरको चासो र चिन्ता भनेकै धुलिखेल खानेपानीको पछिल्लो अवस्था, काभ्रे एकीकृत खानेपानीका साथै बाढीपहिरोबाट भएका भौतिक क्षतिहरुको पुर्ननिर्माणका लागि संघ सरकार र दाता एवं सहयोगीहरुको खोजी रहेको पाइन्छ ।

धुलिखेलमा ‘जुद्ध धारा’ देखि ‘जर्मन खानेपानी’

समुद्रसतहदेखि १४८४ मीटरमाथि रहेको धुलिखेल शहरमा खानेपानीका लागि तत्कालीन राणा शासन कालमै श्रीनाथ ब्याञ्जुको पहल रहेको अभिलेखहरूमा देखिन्छ । उनकै अग्रसरतामा विसं १९९६ सालमा जरणडाँडादेखि चारवटा टोल, अड्डा बजार र कारागार समेतलाई गरी ७ वटा धारा जडान भएका थिए । स्थानीय यी धारालाई ‘जुद्ध धारा’ का रूपमा चित्रण गर्छन् ।

पछि नेपाल खानेपानी संस्थानले धुलिखेल नगरका घना बस्तीमा सीमित संख्यामा खानेपानी प्रणाली सुरू गरेको भेटिन्छ । संस्थानले वितरण गरिरहेको खानेपानीले अभाव झेल्न नसकेपछि धुलिखेलवासी विकल्पको खोजीमा भौंतारिएको अवस्था थियो ।

यस्तैमा धुलिखेलवासीले १४ किलोमिटर टाढा कलाँती भूमेडाँडास्थित पञ्चकन्या छाँगोलाई भरपर्दो स्रोत फेला पारे । भूमेडाँडाका तत्कालीन प्रधानपञ्च हरिकृष्ण केसीसँग मुहान उपयोगको सम्झौता भएको पाइन्छ । तर, त्यो ठाउँ धुलिखेलको उचाइभन्दा ५ मीटरमात्रै अग्लो थियो ।

करिब ३ करोड ७५ लाख अनुमानको ठूलो योजना त्यसबेलाको धुलिखेल गाउँ पञ्चायतले धान्न सक्ने स्थिति थिएन । त्यसबेला गाउँ पञ्चायतले वार्षिक ५० हजार र नगरपञ्चायतले २ लाख ५० हजार मात्र खर्च गर्न पाउने सीमा थियो । स्रोतको सुनिश्चतता र धुलिखेलवासीको प्रतिबद्धताले त्यो स्रोतबाट ल्याउने पानीका लागि जर्मनहरू सहयोग गर्न तयार भए ।

धुलिखेलले खानेपानी प्राप्त गर्न नगरपञ्चायत हुनुपर्ने कानुनी जटिलतासँगै स्थानीयले नेतृत्वमा बेलप्रसाद श्रेष्ठलाई अघि सारेको पाइन्छ । खानेपानी योजना अघि बढाउन धुलिखेललाई नगरपञ्चायत बनाउन दरबारमा बिन्ती पत्र हालिएको थियो । जनसंख्या लगायतका पूर्वाधारमा कमजोर रहेको भए पनि दरबारले धुलिखेललाई नगरपञ्चायतको हैसियतमा उचाल्ने अवसर दियो । बोलाचालीमा ‘जर्मन खानेपानी’ भनिने धुलिखेल खानेपानी आयोजना २०४९ साल असारमा सम्पन्न भएको पाइन्छ ।

२०५० असार २३ गते तत्कालीन श्री ५ को सरकार, जिल्ला खानेपानी कार्यालयले धुलिखेल खानेपानी आयोजनाको स्वामित्व पत्र(लालपुर्जा) धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठलाई धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरेको भेटिन्छ । तत्कालीन डिजाइन अनुसार लाभान्वित वडाहरू २,३,४, ५ (पुरा) र १,६,७ आंशिक र लाभान्वित जनसंख्या १४ हजार ३ सय ७८ उल्लेख छ । यही समितिमा नेपाल खानेपानी संस्थान पनि २०५० माघ १५ गते ‘मर्ज’ भएको पाइन्छ ।

३ दशक अघि नै धुलिखेलको ‘पेमेन्ट फर इकोसिस्टम सर्भिसेज’

‘उपभोक्ताहरूबाटै दीगो तरिकाले व्यवस्थापन भएको खानेपानी प्रणाली’ का रूपमा चर्चित धुलिखेल खानेपानीकाबारेमा धेरै अध्ययन अनुसन्धानहरू भएका छन् । खानेपानीसम्बन्धी कतिपय नीति नियमहरू बनाउने क्रममा सरकारले समेत धुलिखेल खानेपानीलाई ‘मोडल’ बनाउने गरेको छ । यही मोडले मुलुकका धेरै खानेपानी प्रणालीको दीगो सञ्चालनका लागि अनुसरणहरू भएका छन् ।

माथिल्लो तटीय क्षेत्र र स्रोतमाथिको अधिकार भएका तत्कालीन भुमेडाँडा गाउँपञ्चायतका स्थानीयहरूलाई धुलिखेल गाउँ पञ्चायतले मुहान उपयोगबापत सहमतिका रूपमा भूमेडाँडाको प्राथमिक विद्यालय भवन बनाइदिने उल्लेख छ । ‘पेमेन्ट फर इकोसिस्टम सर्भिसेज’ लाई आजभन्दा ३ दशकअघि नै धुलिखेल खानेपानीले अङ्गीकार गरेको देखिन्छ ।

पछिल्ला समयहरूमा पनि धुलिखेल नगरपञ्चायत(हालको नगरपालिकालेसमेत), धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र साविक कलाँती भूमेडाँडा गाविसवीच विभिन्न समझदारी भएका पाइन्छ । समितिले वार्षिक १२ लाख रूपैँया गाविसलाई उपलब्ध गराउने, सो गाविसका विरामीको धुलिखेल अस्पतालमा छुटमा उपचार, निश्चित कोटामा काठमाडौं विश्वविद्यालयमा छुटमा पढाइ गरिदिने र वनापालेको तलब उपलब्ध गराउनेजस्ता सहमति थिए । यसलाई अध्ययनकर्ताहरूले नगरपालिका, खानेपानी उपभोक्ता, स्थानीय समुदाय(गाविस) वीचको फरक खालको पेमेन्ट फर इकोसिस्टम सर्भिसेज’ उल्लेख गरेका छन् ।

पानीका लागि धुलिखेल नगरपालिकाको पहल

उपभोक्ता समितिको प्रारम्भिक अध्ययनअनुसार खारखोला मुहान क्षेत्रका इन्टेकलगायतका संरचनाहरूको क्षति र प्रसारण पाइपलाइनमा भएका क्षतिहरू गरी करीब ३ करोड ५१ लाख रूपैंयाजतिको आँकलन गरिएको छ । समितिले त्यति धेरै परिमाणको क्षतिलाई सुधार गरेर पुरानै अवस्थामा फर्काउन नसक्ने भएपछि नगरपालिकालाई सहयोगका लागि अनुरोध गरेको छ ।

धुलिखेल नगरपालिकाले पनि जर्मन सरकारकै सहयोगमा ३ दशकअघि निर्मित धुलिखेल खानेपानी प्रणाली बाढीपहिरोले क्षति पुर्‍याएपछि पुनः सञ्चालनमा ल्याउनका लागि जर्मन दातालाई नै गुहारेको छ । जर्मन सहयोग निकाय(जिआइजी)का प्रतिनिधिहरूसँग यसबारेमा नगरपालिकामा खानेपानीका उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुसहित नगरप्रमुख अशोककुमार ब्यान्जुले छलफल गरेका थिए ।

सो छलफललगत्तै वडाअध्यक्षहरूसहितको टोली लिएर नगर प्रमुख ब्यान्जु नेपालका लागि जर्मन राजदुत थोमस प्रिन्जलाई भेटेर समस्या अवगत गराएका थिए । यसैवीच, जर्मन सरकारले जिआइजीमार्फत तत्कालका लागि १ करोड ४५ लाख रूपैंया उपलब्ध गराउने जानकारी गराएको छ ।

नगर प्रमुख ब्यान्जु भन्छन्, ‘मंगलबार सहयोग रकमको प्रतिबद्धतासहित ईमेल आएको छ । यसले खानेपानी ल्याउने काम सुचारू गर्न मद्दत मिलेको छ । बाँकी रकमका लागि पनि पहल हुने खबर आएको छ । नगरपालिका पनि उपभोक्ता समितिलाई हरतरहको सहयोग उपलब्ध गराइदिएर धुलिखेलमा अवरूद्ध खानेपानी चाँडो आपूर्ति गराउने लक्ष्यमा खटिरहेको छ’, टेलिफोनमा उनले भने ।

यसैगरी, जिल्ला विपद व्यवस्थापन समितिको पछिल्लो बैठकले बाढीपहिरोका कारण पूर्णरूपमा क्षति भएको धुलिखेल खानेपानी आयोजना र काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आवश्यक पहलको लागि सिफारिस गर्ने निर्णय भएको पनि ब्याञ्जुले जानकारी दिए ।

यो पनि पढ्नुहोस:

सदरमुकाम धुलिखेलमा खानेपानीको हाहाकार सुरु, स्रोत रहेको पनौतीसँग संवादमा कमी



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments