यो यात्रामा आमाछोरीले १० हजार अमेरिकी डलरभन्दा बढी खर्च गरे । तर उनीहरूका लागि यो खर्चभन्दा ठूलो कुरा थियो—माया र जिम्मेवारी।
चितवन / भरतपुरको एउटा होटल वरिपरि छाडा कुकुरको रूपमा दिन काटिरहेको त्यो कुकुरलाई सायद थाहा थिएन—उसको जिन्दगी एकाएक यति ठूलो मोड लिन जाँदैछ भन्ने।
केही महिनाअघि अमेरिकाबाट आएकी आमा–छोरी भरतपुरस्थित होटल ग्लोबलमा बसिरहेका थिए । एकदिन होटल वरिपरि घुमिरहेको छाडा कुकुर उनीहरू नजिकै आइपुग्यो । पाहुनालाई केही नहोस भन्ने सोचले सुरक्षा गार्ड कुकुर लखेट्न दौडिए । हतारमा कुकुर चोट लाग्ने गरी भाग्यो ।
त्यो दृश्य देखेर ती आमाछोरीको मन चसक्क भयो । आँखा रसाए । कुकुरले दुख पाएको दृश्य उनीहरूले सहन सकेनन् । “उसलाई खोजेर ल्याइदिनुस्,” उनीहरूले गार्डसँग आग्रह गरे ।
खोजेर ल्याइयो—त्यही डराएको, काँपिरहेको कुकुर । आमाछोरीले उसलाई सुमसुम्याए, माया गरे । त्यो सानो क्षणमै उनीहरू र कुकुरबीच एउटा अदृश्य सम्बन्ध गाँसियो । त्यो दिन उनीहरूले एउटा ठूलो निर्णय गरे—यो कुकुरलाई अब कहिल्यै सडकमा फर्किन नदिने।
ती विदेशी पाहुनाको व्यवस्थापनमा सहयोग गरिरहेका विनोद ढकालका अनुसार ५० वर्षीया अमेरिकी नागरिक चन्दा रेनेग्रेगर र उहाँकी १६ वर्षीया छोरी म्याडिसनले सबै कानुनी प्रक्रिया पूरा गरेर उक्त कुकुरलाई अमेरिका लैजानुभयो ।
“कुकुरलाई लखेट्दा रोएका ती आमाछोरीले ‘हामी यसलाई अमेरिका लैजान्छौँ’ भन्नु भयो,” ढकाल सम्झनुहुन्छ, “सबै प्रक्रिया मिलाएर पठायौँ । गत आइतबार अमेरिका पुगेको खबर पाउँदा मनैदेखि खुसी लाग्यो।”
गत जुन महिनामा नेपाल आएका उनीहरू दुई साता सोही होटलमा बसेका थिए । त्यसबीच आफ्नो कार्यसूची पूरा गरेर फर्किनु अघि कुकुरको रेखदेखका लागि एक जनालाई जिम्मा दिए । पशु चिकित्सकको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण गरियो । पछि फिट टु फ्लाइट अनुमति, पेट पासपोर्ट तयार पारेर कतार एयरलाइन्समार्फत कुकुरलाई अमेरिका पठाइयो ।
आज त्यो कुकुर अमेरिकाको कोलोराडोमा छ—सडकको धुलो होइन, सुरक्षित घरको न्यानो पाउँदै। दुई दिन क्वारेन्टिनमा राखिएको र स्वास्थ्य परीक्षणपछि बाहिर हिँडाइएको तस्बिर र भिडियो आउँदा ढकाल पनि ढुक्क भए ।
यो यात्रामा आमाछोरीले १० हजार अमेरिकी डलरभन्दा बढी खर्च गरे । तर उनीहरूका लागि यो खर्चभन्दा ठूलो कुरा थियो—माया र जिम्मेवारी।
“मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने कुरा उनीहरूबाट सिकेँ,” ढकाल भन्छन्।
चितवनको सडकमा छाडिएको एउटा कुकुर, आज अमेरिकामा सुरक्षित जीवन बाँचिरहेको छ । कहिलेकाहीँ एउटा सानो करुणा, एउटा माया—कसैको पूरै जिन्दगी बदल्न पर्याप्त हुन्छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित