लुटेराले प्रयोग गरेको गाडी नियन्त्रणमा, लुटमा संलग्न समूहको खोजीका लागि विशेष सर्च अपरेशन जारी
काठमाडौँ / सिन्धुलीस्थित नेपाल एसबिआई बैंकमा भएको लुटपाट घटनामा संलग्न लुटेराहरूले प्रयोग गरेको गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धानका लागि बैंकका कर्मचारीहरूलाई समेत राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीका अनुसार ११–१२ जनाको समूह गाडी नै रिजर्भ गरेर बैंक लुट्न सिन्धुली पुगेको थियो । पक्राउ परेका चालकको प्रारम्भिक बयान अनुसार लुटेरा समूह बनेपाबाट आएको खुलेको छ । चालकले “केटी भगाएर ल्याउने” बहानामा गाडी रिजर्भ गरिएको बताएका छन् ।
स्थानीयका अनुसार सुरुमा चार जना लुटेरा बैंक रहेको घरको पछाडिपट्टिको गेटबाट भित्र प्रवेश गरेका थिए । उनीहरूले पहिला सुरक्षागार्डमाथि आक्रमण गरेका थिए । रोक्न खोज्दा सुरक्षागार्ड रुद्र कार्कीको हात काटिएको बताइएको छ । त्यसपछि लुटेराहरूले अन्य कर्मचारीहरूलाई नियन्त्रणमा लिएर बाँधेका र पेस्तोल देखाउँदै बैंकको चाबी मागेका थिए । बैंकका कर्मचारीहरू सोही बैंक रहेको घरमै बसोबास गर्दै आएका थिए ।


बैंक लुटेर फरार भएपछि कर्मचारीहरूले गुहार मागेका थिए । स्थानीयले घटनाको सुइको पाएपछि लुटेरा समूहले सकेको रकम बोकेर गाडी छोडेर भागेको जनाइएको छ । भाग्ने क्रममा उनीहरूले गाडीमै एक बोरा पैसा छाडेका थिए ।
पैसासहित भागिरहेका लुटेराहरूलाई देखेपछि स्थानीयले ढुंगासमेत हानेका थिए । त्यस क्रममा उनीहरूले केही बोरा पैसा जंगलमै छाडेर भागेका थिए । स्थानीयको सहयोगमा जंगलमा छाडिएको रकम संकलन गरी प्रहरीले बुझाइसकिएको छ ।
हालसम्म प्रत्यक्ष रूपमा लुटपाटमा संलग्न लुटेराहरू पक्राउ परेका छैनन् । प्रहरीले विशेष सर्च अपरेशन सञ्चालन गरिरहेको छ भने जिल्लाबाट थप प्रहरी टोली घटनास्थल पुगेको छ ।
अहिले सबै बैंक कर्मचारीहरू प्रहरीको सुरक्षामा छन् र उनीहरू सुरक्षित रहेको जनाइएको छ । घाइते सुरक्षागार्ड रुद्र कार्कीको प्राथमिक उपचार भइसकेको छ र उनी आराम गरिरहेका छन् ।
प्रहरीले हाल गाडी चालकसँग घटनाबारे विस्तृत सोधपुछ गरिरहेको छ । घटनाको जानकारी बैंकको केन्द्रीय कार्यालयमा पुगिसकेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले समेत चासो देखाएको छ भने बैंकले प्राप्त विवरण राष्ट्र बैंकका अधिकारीहरूलाई जानकारी गराइसकेको जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित