रोजगारीको खोजीमा परदेश, आगोमा बिलाए सपनाहरू

हिमाचलको सोलानमा सल्यानका दुई परिवारका ९ सदस्यको दर्दनाक अन्त्य

सल्यान / गरिबीको चपेटा, गाउँमा रोजगारीको अभाव र दुई छाकको जोहो। यही बाध्यताले सल्यानको सिद्धकुमाख गाउँपालिका–२, टाकुराका केही परिवारलाई करिब अढाई वर्षअघि भारतको हिमाचल प्रदेश पुर्‍यायो। परदेशमा पसिना बगाएर परिवार पाल्ने सपना बोकेका ती परिवारका सपनाहरू भने सोलान जिल्लाको अर्कीमा एकै रात आगोमा खरानी बने।

रातको शान्त वातावरण चिर्दै अचानक पसलमा आगलागी भयो। त्यसैबेला पसलभित्र रहेका ग्यास सिलिन्डर विस्फोट भए। सुतिरहेका दुई परिवारका ९ जना सदस्यले भाग्ने मौका नै पाएनन्। केही सेकेन्डमै आगो र विस्फोटले उनीहरूको जीवन अन्त्य गर्‍यो।

Lahachhap

मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक छन्। एउटै पसलमाथिको कोठामा सँगै सुतेका यी दुई परिवार अब कहिल्यै नफर्कने यात्रामा गएका छन्।

घटनाको खबर टाकुरा बस्तीमा पुगेपछि गाउँ स्तब्ध बन्यो। “फोन आयो, बोल्नै सकिन,” आफन्त प्रेम विक भक्कानिँदै भन्छन्, “सिलिन्डर पड्किँदा सबैको शव छियाछिया भएको छ, चिन्नै नसकिने अवस्था छ।” उनका अनुसार धनबहादुर र काशिराम दुवै मेहनती मजदुर थिए। बिहान सबेरै काममा जाने र राति थकित शरीर लिएर फर्किने उनीहरूको दैनिकी थियो।

Lahachhap

त्यही रात प्रेम विक भने नजिकैको अर्को घरमा सुतेका कारण ज्यान जोगाउन सफल भए। उनीसँगै राजेन्द्र विक, गंगाराम विक र अर्का एक जना गरी चार जनाको परिवार भागेर बाहिर निस्किन सके। “आगो देखिनासाथ भाग्यले बचायो,” उनी भन्छन्, “तर आफ्नो परिवार, दाजुभाइ, भाउजु, भतिजा–भतिजी सबै गुमाएँ।”

हिमाचल प्रदेशको सुरक्षाकर्मी टोली अहिले पनि घटनास्थलमा शव संकलनमा जुटिरहेको छ। तर सिलिन्डर विस्फोटका कारण शव संकलन गर्न निकै कठिन भएको बताइएको छ। एकैसाथ यति ठूलो क्षति हुँदा स्थानीय प्रशासनदेखि नेपाली समुदायसम्म शोकमा डुबेका छन्।

टाकुरा बस्तीका बासिन्दाका अनुसार मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। गाउँमा काम नपाएपछि उनीहरू भारत जान बाध्य भएका थिए। “यहाँ काम भएको भए को परदेश जान्थ्यो र?” एक स्थानीय वृद्धको प्रश्न छ। उनीहरूको घरमा अहिले ताला झुण्डिएको छ, आँगन सुनसान छ, र बाटोमा आँसु मात्रै बगेका छन्।

सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकी भन्छन्, “दुई परिवारका ९ जनाको मृत्युले वडा नै शोकमा डुबेको छ।” वडाले मंगलबार शोक बिदा दिएको छ। “सरकारले गाउँमै रोजगारी दिन सकेको भए आज यी नागरिक परदेशमा ज्यान गुमाउनुपर्ने थिएन,” उनको पीडा छ।

Lahachhap

उनका अनुसार नेपालीहरू अझै पनि रोजगारीका लागि भारतका विभिन्न स्थानमा जान बाध्य छन्। “कहिले बाढी–पहिरो, कहिले दुर्घटना, कहिले आगलागी—हामी सधैं दुःखद खबर सुन्न बाध्य छौं,” उनी भन्छन्।

अहिले शव उतै दाहसंस्कार गर्ने कि नेपाल ल्याउने भन्ने विषयमा सोलानको अर्कीमा रहेका नेपाली समुदाय र आफन्तबीच छलफल भइरहेको छ। निर्णय जे भए पनि टाकुरा बस्तीका घर–आँगनमा अब सधैंका लागि खालीपन छाइरहनेछ।

यो घटना केवल एउटा आगलागी मात्र होइन, गरिबी, बेरोजगारी र बाध्यतामा परेर परदेशिनु पर्ने नेपाली नागरिकको पीडादायी कथा हो। आगोले जलेका ती शरीरसँगै नेपालका धेरै परिवारका सपना पनि खरानी भएका छन्।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments