नेपाली विद्यार्थीहरूले विकास गरेको ‘मुनाल’ क्युब स्याटेलाइट लक्षित कक्षामा पुग्न सकेन

काठमाडौँ / नेपाली विद्यार्थीहरूको सक्रिय सहभागितामा विकास गरिएको सानो क्युब स्याटेलाइट ‘मुनाल’ अपेक्षित उचाइको कक्षामा प्रक्षेपण हुन नसकेको छ। भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्र (SDSC) बाट भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) द्वारा प्रक्षेपण गरिएको PSLV-C62 रकेटले उडानको तेस्रो चरणमा प्राविधिक समस्या सामना गरेपछि मिसन असफल भएको हो।

भारतीय समयअनुसार आज बिहान १०:१७ बजे प्रक्षेपण गरिएको PSLV-C62 रकेटले अन्वेशा नामको भारतीय पृथ्वी अवलोकन उपग्रह (EOS-N1) सहित १४ वटा साना स्याटेलाइटहरू बोकेको थियो। तीमध्ये नेपाली क्युब स्याटेलाइट ‘मुनाल’ पनि एक रहेको थियो। तर प्रक्षेपण क्रममा आएको प्राविधिक समस्याका कारण रकेटले स्याटेलाइटहरूलाई लक्षित कक्षामा स्थापित गर्न सकेन।

‘मुनाल’ स्याटेलाइट उच्च माध्यमिक तहमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सक्रिय सहभागितामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल तथा ISRO को सहकार्यमा विकास गरिएको हो। यस स्याटेलाइटलाई नेपाली विद्यार्थीहरूको पहिलो अन्तरिक्ष प्रयासका रूपमा लिइएको थियो।

मिसनले अपेक्षित प्राविधिक लक्ष्य हासिल गर्न नसके पनि यसले नेपाली विद्यार्थी तथा युवा वैज्ञानिकहरूका लागि महत्वपूर्ण सिकाइ र अनुभव प्रदान गरेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार ‘मुनाल’ परियोजना नेपाली युवाहरूको क्षमता, साहस र अन्तरिक्ष प्रविधिप्रतिको रुचिको ऐतिहासिक उदाहरण बनेको छ।

असफलताका बाबजुद यो प्रयास भविष्यमा हुने अन्तरिक्ष अनुसन्धान, स्याटेलाइट विकास तथा प्रक्षेपण कार्यक्रमहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments