चितवन/नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को विधान संशोधन र केन्द्रीय सभाको वार्षिक साधारण सभा सौराहा, चितवनमा एक विशेष तथा ऐतिहासिक समारोहबिच सम्पन्न भएको छ । नेरेसोको दीर्घकालीन संस्थागत समस्या समाधान, सुशासन सुदृढीकरण र संस्थाको गरिमा पुनःस्थापना गर्ने महत्वपूर्ण उद्देश्यका साथ आयोजना गरिएको यस सभालाई नेपाल रेडक्रसको इतिहासमा एक निर्णायक चरणका रूपमा लिइएको छ ।
सभाको औपचारिक सत्रको प्रारम्भ नेरेसो केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष विनोदकुमार शर्माको अध्यक्षतामा रेडक्रसको ‘सुनौलो दिन–फक्रिँदो समय’को प्रतीकस्वरूप बिरुवामा पानी हालेर गरिएको थियो ।
स्वागत मन्तव्य राख्दै केन्द्रीय तदर्थ कार्यसमितिका सदस्य डा.गंगाधर अधिकारीले नेरेसोले हाल भोगिरहेको समस्या समाधानका लागि विधान संशोधन र निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्नु अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
उहाँले, तदर्थ कार्यसमितिले ९० दिनको कार्यादेश प्राप्त गरी जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै रेडक्रसको महिमा र गरिमा जोगाउन सबैले एकताबद्ध भएर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
शुभकामना मन्तव्यका क्रममा पूर्व महामन्त्री पीताम्बर अर्यालले पारदर्शिता, सुशासन र नैतिक आचरण बिना संस्था बलियो हुन नसक्ने बताउँदै सबै रेडक्रसकर्मीमा शुद्धता र प्रतिबद्धता अनिवार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
पूर्व उपमहामन्त्री हरि न्यौपानेले रेडक्रसले विगतमा थुपै्र आरोह अवरोह झेलेको स्मरण गर्दै अव सबै मिलेर यसको साख र गरिमा बचाउनु पर्नेमा जोड दिनुभयो ।
पूर्व अध्यक्ष सञ्जिवकुमार थापाले समयानुकूल सुधार आवश्यक भए पनि विधानको मूल मर्ममा आँच नआउने गरी संशोधन गर्नुपर्नेमा जोड दिँदै सबै प्रतिनिधिलाई एक ढिक्का भएर विधान पारित गर्न आह्वान गर्नुभयो ।
पूर्व अध्यक्ष डा.नेत्र तिम्सिनाले नेरेसो विधान संशोधनका लागि आफ्नो कार्यसमितिले सक्दो प्रयास गरे पनि जटिल अवस्थाबाट गुज्रनुपरेको स्मरण गर्दै, यस सभाप्रति आफूले पनि अपनत्व लिएको र यस सभाले विगतका तिक्तता मेटाउँदै आपसी सौहार्दपूर्ण वातावरण सिर्जना गरेको अनुभूति व्यक्त गर्नुभयो ।
कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) का नेपाल प्रमुख सन्देश श्रेष्ठले सबै पक्ष मिलेर रेडक्रसको अन्तर्राष्ट्रिय साख र विश्वास जोगाउनुपर्नेमा जोड दिनुभयो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले रेडक्रसको अन्तर्राष्ट्रिय मापदण्ड, सिद्धान्त र मानवीय मूल्यअनुसारको व्यवस्था संशोधित विधानमा समेटिनु अत्यावश्यक रहेको उल्लेख गर्दै विधान संशोधन सभाको सफलताको शुभकामना गर्नुभयो ।
केन्द्रीय तदर्थ कार्यसमितिका सदस्य कान्ती राजभण्डारीले यस सभालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको चितवन जिल्ला शाखाप्रति विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सहभागीहरूप्रति आभार प्रकट गर्नुभयो ।
उद्घाटन सत्रको समापन केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष विनोदकुमार शर्माले गर्दै विधान संशोधन तथा वार्षिक साधारण सभा नेरेसोको भविष्य सुनिश्चित गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो ।
उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा महामन्त्री मीनबहादुर मल्लद्वारा वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष लोकदर्शन श्रेष्ठद्वारा आर्थिक प्रतिवेदन पेस गरिएको थियो । तत्पश्चात् विधान संशोधनसम्बन्धी कार्यसूची प्रस्तुत गरिएको थियो ।
यसअघि नेरेसोले सातै प्रदेशमा प्रदेशस्तरीय सुझाव संकलन कार्यशाला सञ्चालन गरी जिल्ला शाखा, प्रदेश समिति, स्वयंसेवक तथा सरोकारवालाबाट प्राप्त सुझावहरू सङ्कलन गरिएको थियो । ती सुझावहरूको आधारमा तयार गरिएको संशोधित मस्यौदा विधान बन्द सत्रमा महामन्त्रीद्वारा प्रस्तुत गरिएको थियो ।
मस्यौदा प्रस्तुत भएपछि प्रत्येक दफामाथि प्रतिनिधिहरूले दफावार छलफल गरी आ–आफ्ना धारणा, जिज्ञासा र सुधार प्रस्ताव राख्नुभएको थियो । उठेका सुझावहरूलाई अध्ययन गरी विधानको मूल मर्म, रेडक्रसका सिद्धान्त, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने गरी समायोजन गर्ने र आवश्यक स्थानमा दफागत संशोधन, भाषिक स्पष्टता र संरचनागत सुधार गर्ने सहमतिका आधारमा निर्णय प्रक्रिया अगाडि बढाइएको थियो ।
लामो र गहन छलफलपछि संशोधित विधानलाई अध्यक्षको प्रस्ताव र सभासदहरूको समर्थनमा मतका लागि प्रस्तुत गरिएको थियो । सभामा उपस्थित प्रतिनिधिहरूको सर्वसम्मतिबाट विधान स्वीकृत भएको घोषणा गरिएको थियो ।
विधान संशोधन छानविन समितिका संयोजक तथा नेरेसो केन्द्रीय कार्य समितिका उपाध्यक्ष हरिप्रसाद बरालले छानविन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसमा धन्यवाद प्रस्ताव र सङ्कल्प प्रस्ताव अनुमोदन गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै नेरेसो कास्की जिल्ला शाखाका सभापति उर्मीला खड्काले आफू महिला भएकै कारण सभापति सम्म पुग्नका लागि ६० वर्ष लागेको स्मरण गर्दै पारित भएको यस विधानले महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गर्ने काम गरेको प्रति खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै, प्रदेशको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश सभापति लालप्रसाद पंगेनीले यस सभाबाट पारित भएका निर्णयहरूले स्वयंसेवकको भावना, मर्म र योगदानलाई सही रूपमा आत्मसात् गरेको विश्वास व्यक्त गर्नुभयो । उहाँले विधान संशोधन तथा वार्षिक साधारण सभाको यस अवसरले संस्थागत सुदृढीकरण, आपसी सौहार्द र भविष्यप्रति स्पष्ट मार्गनिर्देशन दिएको बताउनुभयो ।
त्यस्तै आतिथ्य जिल्ला चितवनका सभापति हरि पौडेलले आफ्नो जिल्लाले यति महत्वपूर्ण कार्यक्रम आतिथ्यता गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कर्मचारीहरूको तर्फबाट नेरेसोका निमित्त कार्यकारी निर्देशक मोना अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेरेसोका महामन्त्री मीनबहादुर मल्लले गर्नुभएको थियो ।
धन्यवाद ज्ञापन मन्तव्य व्यक्त गर्दै नेरेसो केन्द्रीय कार्यसमितिका अध्यक्ष विनोदकुमार शर्माले यस विधानलाई अपनत्व लिई सर्वसम्मति स्वीकृत गरेकोमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गर्नुभयो ।
विधान आइएफआरसी, सिएमसी, नेपाल सरकारका मापदण्ड, सुझाव लिएको र संस्थालाई परिवर्तित, गतिशील, पारदर्शी र समसामयिक हुन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेरेसोका पूर्व अध्यक्षहरू सञ्जिवकुमार थापा र डा.नेत्रप्रसाद तिम्सिना, पूर्व महामन्त्रीहरू पीताम्बर अयाृल र दिपेन्द्र ढकाल, पूर्व उपमहामन्त्री हरिप्रसाद न्यौपानेलगायतका पूर्व पदाधिकारीहरू, सातै प्रदेश र ७७ वटै जिल्लाका २५४ जना सभासद् तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
साथै केन्द्रीय तदर्थ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधि, युवा तथा महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यस सभाबाट नेरेसोको संस्थागत स्थायित्व, विश्वसनीयता र मानवीय सेवाको यात्रालाई नयाँ दिशा दिने विश्वास गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित