काठमाडौँ/राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं आफ्ना उत्पादित सामग्रीको स्वनियमन गर्ने उद्देश्यले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ को प्रति निर्वाचन आयोगसमक्ष हस्तान्तरण गरेको छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको नेतृत्वको टोलीले आज आयोगको कार्यालयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पदाधिकारीलाई सो आचारसंहिता हस्तान्तरण गरेको हो । रासस सञ्चालक समितिबाट पारित २३ बुँदे आचारसंहिता आजदेखि कार्यान्वयन भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न, गराउन रासस र राससकर्मीको कर्तव्य हुनेलगायतका विषय राससको आचारसंहितामा उल्लेख छ ।
राष्ट्रिय समाचार समिति (रासस)
निर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधन २०८२)
निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड हो । लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउनका लागि आवधिक निर्वाचन अपरिहार्य मानिन्छ । नेपालको संविधान (२०७२) जारी भएपछि पहिलो पटक विसं २०७४ मा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
त्यसपछि विसं २०७९ वैशाख ३० मा स्थानीय तहको र २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको थियो । यतिखेर मुलुक यही फागुन २१ गते प्रस्तावित प्रतिनिधिसभाको निर्वाचनको तयारीमा छ । देशका समग्र राज्य संयन्त्रहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीमा परिचिलित भइसकेका छन् ।
निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यका अरू अङ्ग एवं निकायजस्तै चौथो अङ्गका रूपमा रहेको आमसञ्चारमाध्यमको भूमिका पनि गहन र अहम् हुन्छ । निर्वाचन भनेको राष्ट्रिय जिम्मेवारी पनि हो । निर्वाचन प्रक्रियाका सुरुदेखि अन्त्यसम्म समाचार सङ्कलन तथा प्रकाशन–प्रसारण गर्दा मिडियाले संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताका सीमा, व्यावसायिक पत्रकारिताका सिद्धान्त तथा मूल्यमान्यता, पत्रकार र निर्वाचन आचारसंहितासमेत बुझ्नुपर्ने हुन्छ ।
निर्वाचन गर्नु भनेको राज्यको संवेदनशील जिम्मेवारी भएकाले निर्वाचनमा आचारसंहिताको ठूलो महत्व हुन्छ र यसको पालना राज्यका सम्बद्ध सबै अङ्ग र निकायले गर्नुपर्दछ । यसै सन्दर्भमा छ दशकभन्दा लामो समयदेखि सेवा गर्दै आएको राज्यको एक मात्र आधिकारिक समाचार समितिका रूपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) ले पनि निम्नबमोजिमको निर्वाचन आचारसंहिता निर्माण गरी लागू गर्ने प्रण गर्दछ ।
ऐन, नियम, विनियम, आचारसंहिता अवलम्बन
१. यो आचारसंहिता रासस ऐन, विनियम तथा प्रेस काउन्सिल नेपालबाट जारी पत्रकार आचारसंहिता २०७३ स्वीकार गर्दछ । यिनमा व्यवस्था गरिएका प्रावधानहरु सबै राससकर्मीले अवलम्बन गरिने छ ।
२. निर्वाचन आयोगलगायत नेपाल सरकारका सम्बन्धित निकायबाट जारी निर्वाचनसम्बन्धी आचारसंहिताको अवलम्बन गरिने छ ।
३. निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न, गराउन रासस र राससकर्मीको कर्तव्य हुनेछ ।
४. निर्वाचनसम्बन्धी समाचार, तस्बिर, लेख, आलेख, श्रव्य, श्रव्यदृश्यलगायत सामग्री प्रकाशन र प्रसारण गर्दा निष्पक्षता, तटस्थता र स्वतन्त्रताको सिद्धान्त पालना गरिने छ ।
५. निर्वाचनसम्बन्धी सामग्री सम्प्रेषण गर्ने सन्दर्भमा बहुलवादी अवधारणालाई स्वीकार गरिने छ र कुनै पनि अवस्थामा कसैप्रति कुनै पनि प्रकारको भेदभाव गरिने छैन ।
दल र उम्मेदवारका पक्षमा लाग्न वर्जित
६. कुनै पनि राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता र उम्मेदवारलाई प्रत्यक्ष लाभ पुग्नेगरी प्रचार संयन्त्र वा तिनबाट गठित समितिका सदस्यका रूपमा रासस र राससकर्मी प्रयोग हुने छैनन् र तिनका चुनाव प्रचार अभियानमा पनि खटिने छैनन् ।
७. कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई अतिरिक्त लाभ पुग्नेगरी कुनै पनि प्रकारको एकपक्षीय सामग्री राससले उत्पादन तथा वितरण गर्नु हुँदैन ।
८. तर रासस र राससकर्मीले निर्वाचनलाई सफल बनाउन आवश्यक प्रचार सामग्री उत्पादन गर्ने तथा मतदाता शिक्षाको प्रचारप्रसारमा भने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छन् ।
अनुमानमा आधारित सामग्री वर्जित
९. अनुमानमा आधारित रहेर निर्वाचनसँग सम्बन्धित कुनै पनि सामग्रीहरु प्रकाशन–प्रसारण गरिने छैन । विनाआधार कुनै राजनीतिक दल र उम्मेदवारले विजय वा पराजय हासिल गर्ने आशयका विश्लेषणात्मक सामग्री पनि सम्प्रेषण गरिने छैन ।
१०. मतदानको प्रक्रिया प्रभावित हुनेगरी मतदाता पूर्वसर्वेक्षण र सम्पन्नपछिको सर्वेक्षण जस्ता अनुमानमा आधारित कुनै पनि प्रकारका सामग्री उत्पादन र वितरण गरिने छैन ।
सबैलाई समान महत्व
११. निर्वाचनसम्बन्धी कुनै पनि समाचार सम्प्रेषणका सन्दर्भमा सत्य पस्किने र सन्तुलन निर्वाह गर्ने कुरा अनिवार्यरूपमा आत्मसात् गरिने छ । राससले निर्वाचनमा सहभागी सबै राजनीतिक दल र तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारका गतिविधिलाई समान महत्व दिनेछ ।
१२. कुनै पनि राजनीतिक दल, व्यक्ति, उम्मेदवार र सस्ंथाका विरुद्ध अमर्यादित, अपाच्य, असहिष्णु, एकार्कालाई होच्याउने र घृणा फैलाउने भाषाको प्रयोग अनुचित हुनेछ । त्यस्ता भाषाशैली वा प्रस्तुति कुनै वक्ताका भनाइमा पाइए पनि जस्ताको तस्तै वा प्रत्यक्ष कथनका रूपमा प्रयोग गरिने छैन ।
१३. विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गरिने छैन ।
सामाजिक सद्भावको अभिवृद्धि
१४. अशान्ति हुने, होहल्ला मच्चिने, द्वन्द्व फैलाउन सहयोग पुग्नेलगायत शान्ति, सुव्यवस्था र सुरक्षामा खलल पर्ने कुनै पनि सामग्रीको सम्प्रेषण गरिने छैन ।
१५. जातीय र साम्प्रदायिक विद्वेष तथा धार्मिक असहिष्णुता बढ्न सक्ने सामग्री प्रकाशन–प्रसारण गरिने छैन । रासस र राससकर्मी सदैव सामाजिक सद्भाव अभिवृद्धिको प्रवद्र्धनमा संलग्न हुनुपर्नेछ ।
१६. सम्बन्धित दल र व्यक्तिका प्रचारमा सहयोग पु¥याउने उद्देश्यले कुनै पनि उम्मेदवारको एकपक्षीय रूपमा अन्तर्वार्ता लिने तथा प्रकाशन र प्रसारण गर्ने काम हुनुहुँदैन ।
१७. राससका कुनै पनि कार्यालय र परिसरमा कुनै दल र उम्मेदवार विशेषका प्रचार सामग्रीसँग सम्बन्धित पर्चा, पोस्टर, ब्यानर, होर्डिङ बोर्ड, फ्लेक्स बोर्डजस्ता सामग्री टाँस्ने एवं र झुन्ड्याउने कार्य गरिने छैन ।
उम्मेदवार बन्न निषेध
१८. राससकर्मी आफू राससमा बहाल रहेकै अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तह एवं स्थानीय तह आदि कुनै पनि पदका लागि उम्मेदवार बन्नुहुँदैन । तर राससको पद र जिम्मेवारी त्यागेर उम्मेदवार बन्न भने यो आचारसंहिताले रोक्ने छैन । नेपाल सरकार वा निर्वाचन आयोगले खटाएकोमा बाहेक रासस कर्मचारी वा पत्रकार निर्वाचन आयोगका निर्वाचन, मतदान र मतगणना अधिकृत वा कर्मचारीका रूपमा रहनु हुँदैन ।
१९. आशय बिग्रने गरी गलत मनशायले कुनै सामग्री सम्प्रेषण गर्नु अनुचित हुनेछ ।
२०. राससका सवारीलगायत कुनै पनि साधन दल र उम्मेदवारको चुनाव प्रचारका पक्षमा प्रयोग गरिनु हुँदैन तर मतदाता शिक्षा प्रसारका लागि यस्ता साधनको प्रयोगलाई अनुचित मानिने छैन ।
२१. राससकर्मीले निर्वाचनमा कुनै दल वा उम्मेदवारका पक्ष वा विपक्षमा सामाजिक सञ्जाल या न्युज मिडियाका माध्यमबाट प्रचार या विरोध गर्ने गरी कुनै पनि किसिमका सामग्री ‘पोस्ट’, ‘सेयर’ र ‘लाइक’ गर्न वा तिनमा ‘कमेन्ट’ वा ‘काउन्टर कमेन्ट’ गर्न तथा ध्वनि वा चिह्नद्वारा पनि सङ्केत गर्न पाउने छैनन् ।
एआई, इलस्ट्रेसन तथा प्रतीक चिह्नको प्रयोगमा सावधानी
२२. राससबाट समाचार सम्प्रेषणका क्रममा कुनै व्यक्तिको तस्बिरका स्थानमा एआईद्वारा निर्मित तस्बिर प्रयोग गरिने छैन । तर एआईले निर्माण गर्ने कुनै इलस्ट्रेसन, प्रतीक चिह्न, चार्ट आदि भने प्रयोग गर्न सकिने छ । जस्तै मतदाताहरु लाम लागेर बसेका, मतदान गरेको या मतपेटिका आदिका प्रतिकात्मक तस्बिरहरुको प्रयोग गर्न सकिने छ । यसरी प्रयोग गरेका तस्बिरमा एआईद्वारा निर्मित तस्बिर भनेर स्पष्टसँग बुझिनेगरी क्याप्सन राख्नुपर्नेछ ।
२३. यो आचारसंहिता लागू भए÷नभएको अनुगमन गरिने छ । यदि राससकर्मीबाट यो उल्लङ्घन भएको पाइएमा निजलाई सचेत गराई निजको व्यक्तिगत अभिलेखमा जनिने गरी राखिनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित