रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा/ रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ ।

ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको पहिलो मालवाहक डिब्बा नेपाल भित्रिएको जानकारी दिँदै स्थानीय टिमुरे भन्सार कार्यालयले दिनभरीमा ३७ वटा ट्रक तथा डिब्बा नवनिर्मित पुल हुँदै नेपाल भित्रिएको जनाएको छ ।

टमुरेस्थित भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार स्याउ बोकेका आठ, ओखर बोकेका १०, जलविद्युत्का समान बोकेका छ, रेडिमेट सामग्री बोकेका १३ वटा ट्रक तथा डिब्बा बिहीबार नेपाल भित्रिएका हुन् । रसुवागढी नाकाबाट २३ किलोमिटर उत्तरमा रहेको केरुङबाट यसअघि सामन्यतया लत्ताकपडा, फलफूल, ओखर, विद्युतीय सामग्रीलगायत सामान लिइ दैनिक सरदर २० वटा ट्रक तथा डिब्बा नेपाल भित्रिने गर्दथे ।

केरुङबाट करिब पाँच हजार किमी दूरीमा रहेको चीनको ‘गोन्झाओ’ र ‘इयु’ क्षेत्र हुँदै चिनियाँ समान नेपालतर्फ ढुवानी हुने गरेको चिनियाँ मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङले जानकारी दिनुभयो ।

यसैगरी, केरुङबाट करिब ८०० किमीमा रहेको तिब्बतको प्रमुख सहर ल्हासा र करिब ४०० किमी दूरीमा रहेको सिँगत्से हुँदै पनि केही सामान नेपालतर्फ ल्याइने गरेको मुसा कम्पनीले जनाएको छ । गत असारमा ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित पक्की पुल बगाएपछि दुईतर्फी आवतजावत ठप्प हुँदै आएकामा हिजोदेखि बेलीब्रिज सञ्चालनमा आएसँगै ट्रक तथा डिब्बा गुड्न थालेका हुन् ।

नियमित सामान ढुवानीका क्रममा केरुङमा अड्केका मालवाहक ट्रक तथा डिब्बाहरू छ महिनापछि समान लिइ नेपालतर्फ आउन सुरु गरेको टिमुर भन्सार कार्यालयले जनाएको छ । बिहीबार रसुवागढीमा रहेका २८ वटा मालवाहक डिब्बा समान लिनेक्रममा केरुङतर्फ गएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चिनियाँ सरकारले प्राथमिकतामा राखेको रसुवागढी नाका काठमाडौँबाट पृथ्वीराजमार्गको गल्छी हुँदै रसुवागढीसम्मको दूरी १४८ किमी रहेको छ । लामो समयदेखि सो अन्तरराष्ट्रिय नाका अवरुद्ध हुँदा चिनियाँ सामग्री नेपाल ल्याउन कठिन भएको थियो । रसुवागढीस्थित बेलीब्रिज सञ्चालनमा आएसँगै चिनियाँ सामान नेपाल भित्र्याउन सहज भएको र स्थानीय बजारसँगै सडक क्षेत्रमा चहलपहल वृद्धि भएको रसुवास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।

गत असार २४ गतेको बाढीले विशेषगरी बेत्रावतीदेखि रसुवागढी सडकखण्डको विभिन्न स्थानमा सडक बाटो कटान गर्दा सामान ढुवानीमा समस्या सिर्जना भएको उल्लेख गर्दै मालवाहक ट्रक तथा डिब्बा चालकले सडक मर्मतसम्भारमा ध्यान दिन सरकारसँग अनुरोध गरेका छन् ।

मालवाहक गाडी धनी तथा चालकहरूले बगेको, भत्केको ठाउँमा सडकको ट्र्याक खोल्ने काम पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै अब स्तरोन्नतिको कामलाई प्राथमिकता दिन गल्छी–रसुवागढी सडक सुधार आयोजनासँग अनुरोध गरेका राससले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments