पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी वेश क्याम्प पुनः स्थापना

भोजपुर/यहाँको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी वेश क्याम्प पुनः स्थापना गरिएको छ । स्थानीय तह र नागरिकको निरन्तर पहल तथा मागपछि पुनःअस्थायी वेश क्याम्प स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ गुल्म (भोजपुर) अन्तर्गतको उक्त क्याम्प गत भदौ महिनादेखि हटाइएको थियो । जेनजी आन्दोलनपश्चात् गत भदौ महिनामा चखेवा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको वेश क्याम्प हटाइएपछि सुरक्षा संवेदनशील मानिने चखेवा तथा मुन्दुम पदमार्ग आसपासको क्षेत्रमा स्थानीयवासीले सुरक्षा चुनौती महसुस गर्दै आएका थिए ।

सशस्त्र प्रहरी बल–५ गुल्म भोजपुरका प्रमुख दिव्यराज कोइरालाले यसअघि सङ्गठनको निर्णयअनुसार क्याम्प जिल्लामा गाभिएको भए पनि वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पुनःस्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँले सीमा सुरक्षासँगै स्थानीय नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताउनुभयो । पुस १९ गतेदेखि क्याम्प पूर्ण रूपमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

मुन्दुम पदमार्गसँगै भोजपुर र खोटाङ जिल्लाको सीमा क्षेत्रसमेत पर्ने भएकाले सुरक्षा सुनिश्चित गर्न क्याम्प पुनःस्थापना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

जिल्लादेखि केन्द्रसम्म निरन्तर समन्वय र पहलपछि क्याम्प पुनःस्थापना गर्न सफल भएको उहाँको भनाइ छ । विगतमा स्थानीयस्तरमै पाँच रोपनी जग्गा उपलब्ध गराएर क्याम्प स्थापना गरिएको जानकारी दिनुभयो ।

“चखेवामा पुनःसशस्त्र प्रहरीको वेश क्याम्प स्थापना भएको छ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “विगतदेखि सञ्चालनमा रहेको क्याम्प हटेपछि पुनः स्थापना गर्न निकै मेहनत गर्नुप¥यो । जिल्लादेखि केन्द्रसम्म समन्वय गरेर यहाँको सुरक्षा संरचना पुनःस्थापित गर्न सफल भएका छौँ ।”

क्याम्प पुनःसञ्चालनमा आएपछि चोरी तथा अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटकको सुरक्षामा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । अस्थायी वेश क्याम्प स्थापनासँगै चखेवा तथा आसपासका बासिन्दाले राहत महसुस गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले क्याम्प पुनःस्थापनाले गाउँपालिकाको समग्र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताउनुभयो । चखेवा पर्यटकीय क्षेत्र रहेकाले यहाँ सुरक्षाको उपस्थित अपरिहार्य रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments