कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा

सुदूरपश्चिम/धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरीको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन् ।

कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले कारागार वरिवरी दुर्गन्धित वातावरण भइरहेपनि फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिइएको स्थानीयको गुनासो छ ।कारागार नजिकैको निजी खेतीयोग्य जग्गा ढलले भरिएपछि जग्गा धनी स्थानीय पार्वती खरेल खेती गर्नबाट बञ्चित हुनुभएको छ ।

उहाँले गुनासो गर्नुभयो, “कारागारको शौचालय र ढलबाट बग्ने फोहोर वर्षौँदेखि आफ्नो पाँच कट्ठा जग्गामा जमिरहन्छ, फोहोर जम्न थालेपछि न खेती गर्न सकिन्छ, दुर्गन्धले न नजिक जान सकिन्छ ।” उहाँले जग्गामा विगतमा धान, गहुँ, तरकारी खेती गरेर परिवार पाल्दै आउनुभएको थियो ।

स्थानीयवासी फोहोर जम्दा हुने दुर्गन्धित वातावरणले सास फेर्नै गाह्रो हुनेमात्र नभई झिँगा–लामखुट्टे बढेर रोगको सङ्क्रमणको डरमा बाँच्नुपरेको बताउँछन् । बालबालिका, वृद्ध र बिरामीका लागि यो वातावरण झनै जोखिमपूर्ण बनेको छ । कारागार नजिकको टोलका झण्डै एक दर्जन बढी परिवार दुर्गन्धले प्रभावित भइरहेका छन् ।

“वर्षातको मौसममा त यहाँ हिँड्नै सकिँदैन, ढल र सडकको पानी मिसिएर पूरै क्षेत्र दलदलजस्तै हुन्छ ।” अर्का स्थानीय प्रतिभा खरेलले भन्नुभयो ।

समस्या समाधानका लागि पार्वती खरेलले जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार, धनगढी उपमहानगरपालिका, वडा कार्यालयमा निवेदन दिनुभएपनि सुनुवाई गरिएको छैन । तीन वर्षअघि जिल्ला प्रशासनले समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै ठोस काम हुननसकेको स्थानीयको गुनासो छ ।

फोहोर व्यवस्थापनको नीतिअनुसार धनगढी उपमहानगरपालिकाबाट घरायसी तथा सार्वजनिक फोहोर स्रोतदेखि नै छुट्याएर सङ्कलन गर्ने, कुहिने फोहोरबाट कम्पोस्ट र बायोग्याँस उत्पादन गर्ने, नकुहिने फोहोरको पुनःप्रयोग तथा बिक्री र खोलानाला, नदी तथा सार्वजनिक जलस्रोतमा फोहोर फाल्न प्रतिबन्ध लगाइएको छ । तर आफूहरुको टोलमा फोहोरको उचित व्यवस्थापन नहुँदा फोहोरी वातावरणमै बस्नु परेको स्थानीय बताउँछन् ।

धनगढी उपमहानगरपालिका–१ वडाध्यक्ष सन्तोष मुडभरीले कारागारको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय प्रशासनको भएपनि अहिलेसम्म सुनुवाई नगरिँदा समस्या भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “तीन वर्षअघि प्रशासनले समाधान हुन्छ भनेपछि स्थानीय शान्त भएका थिए, तर अहिलेसम्म समस्या समाधान नहुँदा आक्रोश बढेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments