स्थापनामा सघाउनेलाइ धुलिखेल अस्पतालको सम्मान

कार्यक्रममा मुख्यमन्त्री बानियाँले एकै व्यक्तिले चाहँदा पनि मुलुक परिवर्तन हुन सक्छ भन्ने उदाहरण अस्पतालका संस्थापकहरुले प्रस्तुत गरेको बताए ।

काभ्रेपलान्चोक / स्थापनामा सहयोग गर्ने दुई व्यक्तित्वलाई धुलिखेल अस्पतालले सम्मान गरेको छ ।

३०औँ वार्षिकोत्सव समारोहमा अस्पतालले आइतबार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र धुलिखेलका प्रथम नगर प्रमुख बेलप्रसाद श्रेष्ठलाई सम्मान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले एकै व्यक्तिले चाहँदा पनि मुलुक परिवर्तन हुन सक्छ भन्ने उदाहरण अस्पतालका संस्थापकहरुले प्रस्तुत गरेको बताए । अस्पतालका संस्थापक प्राध्यापक डा. रामकण्ठ माकजु श्रेष्ठले अवचलित रुपमा निरन्तर खटिँदा अस्पताललाई अहिलेको अवस्थामा पुर्याएको भन्दै धुलिखेल अस्पताल मुलुकको मात्र नभई संसारभर नै उत्कृष्ट संस्थाको रूपमा स्थापित भएको तर्क गरे ।

धुलिखेल अस्पताललाई सघाउन प्रदेश सरकार तयार रहेको बताउँदै उनले विशेषज्ञ चिकित्सक उत्पादन गर्न प्रदेश सरकारसँग अस्पताल जोडिन चाहेकाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विश्वविद्यालयको रुपमा विकास गर्न सघाउने बताए । धुलखेल अस्पतालको सेवा गरिबमुखी, गाउँमुखी र सेवामुखी भएको तर्क गर्दै उनले डा. रामकण्ठ र उनको ‘टिम’ले मानवताको सेवामा न्याय गरेको बताए ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले सबैको साथ सहयोगको कारण अस्पतालले सफलता हासिल गरेको तर्क गर्दै डा. रामकण्ठ माकाजु श्रेष्ठको सोचमा सबैको सहयोग रहेको तर्क गरे ।

अस्पतालका संस्थापक प्राध्यापक डा. रामकण्ठ माकाजु श्रेष्ठले सुरुवात नगर्दा सफल हुन्छ भनेर आफूलाई विश्वास गर्ने जमातको कारण सफलता हासिल गरेको तर्क गर्दै सपना पुरा गर्न सबैको सहयोग र साथ रहेको तर्क गरे ।

अस्पतालका संस्थापक मध्येका प्राध्यापक डा. राजेन्द्र कोजुले ‘टिमवर्क’का कारण धुलिखेल अस्पताल सफल भएको भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभई अमेरिका र अफ्रिका महादेशबाट समेत मानिसहरू अस्पताल आउने गरेको तथ्य प्रस्तुत गरे । सबैलाई समान व्यवहार नै अस्पतालको मर्म भएको भन्दै उनले सेवामा कुनै कमजोरी र भेदभाव नभएको तर्क गरे। अस्पतालका मेडिकल निर्देशक डा. बलराम मल्लले अस्पतालले उच्च प्रविधि र दक्ष जनशक्तिमार्फत सबैमा सम्मान सेवा र व्यवहार गरेको बताए ।

प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्यले अस्पतालका संस्थापक डाक्टर रामकण्ठ माकजू र स्थापनामा सहयोग गर्ने डा. सुरेशरा शर्मा र बेलप्रसाद श्रेष्ठबाट दूरदृष्टि, लगाव, त्याग, ठूलो हृदय, विनम्रता र शालिनता भए मात्रै सफल हुने शिक्षा पाएको बताए ।

कार्यक्रममा विभिन्न विधामा फेलोसिप पाएका अस्पतालका आठजना चिकित्सक र नौ जना नर्सिङ स्टाफलाई दीक्षित गरिएको थियो।

वार्षिकोत्सव समारोहमा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटा, पूर्व राज्यमन्त्री सुर्यमान दोङ, बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रत्नप्रसाद ढकाल, लक्ष्मण लम्साल, पूर्वमन्त्री निमा लामा, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम सहित जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments