मुख्यमन्त्री बानियाँले प्राथमिकताका आधारमा स्थानीय तहले छनोट गरेका योजनाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
धुलिखेल / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेका छन्। स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मुख्यमन्त्री बानियाँलाई गुनासो नै गुनासो पोखेका छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा संघ, प्रदेश र स्थानीय स्तरीय सवालमा समन्वय र सहजीकरण विषय अन्तरक्रियामा सहभागी उनीहरुले विकास निर्माणलगायत विभिन्न विषयहरूमा समन्वय नहुँदा संविधानको मर्ममाथि नै प्रहार भएको बताए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले गत वर्षका विपदका कारण बगाएको थान्सिङ मोटररेबल पुल समयमा नै नबन्दा नमोबुद्ध, रोशी, महाभारत, खानीखोला लगायतका स्थानीय तहका स्थानीयहरू प्रभावित भएको भन्दै तत्काल निर्माण थाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । नमोबुद्धमा निर्माणाधीन कृषि उपज चिस्यान केन्द्र अलपत्र परेको भन्दै बजेट व्यवस्थापन गर्न अनुरोध गरे ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले युवालाई विदेश जान रोक्ने गरी योजना ल्याउन अनुरोध गर्दै पाँचखालमा सुरु भएको हरित महिला औद्योगिक ग्राम लगायतका योजनामा सहकार्य गर्न अनुरोध गरे । मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले विधिवत संरचनाभन्दा बाहेकबाट आएका योजनामा बजेट विनियोजन नगर्न अनुरोध गर्दै स्थानीय तहहरू ५० प्रतिशत साझेदारी गर्न तयार रहेको बताए ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले प्रत्येक वर्ष विपदका कारण खानेपानीमा क्षति पुगेको भन्दै बनेपा नगरवासी काकाकुल बन्ने अवस्था आएकाले सहयोगको लागि प्रदेशलाई अनुरोध गरे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले रोशीखोलाको थान्सिङ पुल यथाशीघ्र निर्माण गरी सो भेगका जनतालाई राहत दिन अनुरोध गरे ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले स्थानीय तह सबलीकरणको योजना ल्याउन प्रदेश सरकारलाई अनुरोध गर्दै खानीखोलाबाट हेटौडा जोड्ने सडक, सिक्रे दोभान पुल निर्माण अलपत्र परेको भन्दै तत्काल निर्माण थाल्न अनुरोध गरे बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विपदबाट प्रभावित गाउँपालिकाहरुलाई तत्काल बजेट व्यवस्थापन गर्न अनुरोध गर्दै पालिका जोड्ने सडक निर्माणमा तदारुक्ता दिन अनुरोध गरे।
चौरिदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले आफ्नो पालिकाका पाँचवटा वडा सुख्खाग्रस्त रहेको भन्दै सिँचाइको व्यवस्था गर्न अलपत्र अस्पताल निर्माण सम्पन्न गर्न र खहरेघाट पुल सम्पन्न गर्न ध्यानाकर्षण गराइन्। महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विगतमा आश्वासन मात्र पाएकोले पूरा गर्न अनुरोध गर्दै महाभारत गाउँपालिका जोड्ने रोशीको थानसिङ पुल निर्माण तत्काल थाल्न अनुरोध गरे ।
भुम्लू गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले विपदपछि क्षतविक्षत खानेपानी योजनालाई बजेट व्यवस्थापन गरी पूरा गर्न अनुरोध गरे । धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गमले प्रदेश सरकारका केही योजना दोहोरिएर आए पनि सम्पन्न गर्न बजेट अपर्याप्त रहेको भन्दै केही योजना दुवै कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको बताए। मण्डन देउपुर नगरपालिका उपप्रमुख विष्णुमणि नेपालले टिपरको ओभरलोड र पानी चुहाउने समस्याको कारण सडक चाँडै बिग्रेको भन्दै प्रदेशका जिल्लामा समन्वय गर्न अनुरोध गरे ।
बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहालले समपूरक योजनामा प्रदेश सरकारले साझेदारी घटाएको भन्दै स्थानीय तहले योजना सिफारिस गर्न सक्ने अवस्था नरहेको बताइन् । खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्वाले सडकको दुरावस्थाका कारण गाउँपालिका अझै विकट रहेको तर्क गर्दै खोपासी -तालढुंगा सडकका लागि पर्याप्त बजेट विनियोजन गरि समयमा नै सम्पन्न गर्न अनुरोध गरे ।
मण्डन देउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले चौथो तहको दरवन्दी कायम नहुँदा स्वास्थ्य सेवामा जनशक्ति व्यवस्थापन गर्न असहज भएको तर्क गरे । खानेपानी तथा सरसफाई ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख सृष्टि ख्वालापालाले क्रमगत योजनामा बजेट काटिँदा सम्पन्न गर्न असहज भएको भन्दै ती योजनाहरू प्राथमिकतामा राख्न अनुरोध गरे । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकका प्रमुख सविता दंगालले शिक्षकहरूका लागि जिल्ला-जिल्लामा तालिमको व्यवस्था गर्न अनुरोध गरिन् ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्राथमिकताका आधारमा स्थानीय तहले छनोट गरेका योजनाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । विपदबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्राथमिकतामा राखेर तत्काल थाल्ने बताउँदै उनले जनताको माग र आवश्यकताका योजनाहरूमा काम गर्ने बताए । तीन तहको सरकार बीचको अन्तरक्रिया र समीक्षाले आगामी कार्य योजना बनाउन मार्गदर्शन गर्ने तर्क गरे।
संविधानसभा सदस्य समेत रहेका बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादी श्रेष्ठले तीन तहबीच समन्वयको आवश्यकता महसुस गरेरै जिल्ला समन्वय समितिको संरचना राखिएको दाबी गरे । योजना कार्यान्वयनका सम्बन्धमा स्थानीय तह प्रदेश सरकारबीच केही मतभेद भएको हुन सक्ने भन्दै उनले यस्ता विषय संवादबाट टुङ्ग्याउनुपर्ने बताए ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले विपदबाट क्षतिग्रस्त जिल्लाको पुननिर्माणको लागि सहयोग गर्न प्रदेश सरकारलाई अनुरोध गरे । प्रदेश सरकारका जिल्ला स्थित संरचना एकीकरण (मर्ज)गर्न अनुरोध गर्दै उनले त्यसको सञ्चालन खर्च विकास बजेटमा लगाउन सकिने तर्क गरे ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जनताले छाम्दा सुन्दा खोज्दा भेटिने सरकार खोजेको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउन भूमिका खेलिरहेको बताए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दीपक ढकालले तीन तहका सरकारबीच समन्वयको काम समन्वय परिषदको मार्फत भइरहेको बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित