चितवन/आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताउनुभयो ।

प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उहाँले जानकारी दिनुभयो । महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।
महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले नौ करोडदेखि रु १० करोडको कारोबार गर्ने र यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।
सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ । सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित