नेपालकै पहिलो न्यून कार्बन ‘फोर्ट स्टेज’ साइकल ट्रेलको अध्ययन सुरु: पर्यटन, सम्पदा र जनस्वास्थ्यको नयाँ संगम

काठमाडौँ/ नेपालको ऐतिहासिक सम्पदा संरक्षण र दिगो पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ ‘फोर्ट स्टेज राइड’ को सम्भाव्यता अध्ययन तथा अभियान सुरु भएको छ। स्टोरीसाइकल र समृद्ध सिन्धुली अभियानको संयुक्त पहलमा सुरु भएको यस अभियानले बागमती प्रदेशका १५ वटा स्थानीय तह र ऐतिहासिक गढीहरूलाई एउटै सूत्रमा जोड्नेछ।

३९० किलोमिटर लामो यो पर्यावरण मैत्री साइकल ट्रेलले ऐतिहासिक गढीहरूको पुनर्जागरण गर्दै ‘न्यून कार्बन पर्यटन’को अवधारणालाई अघि सारेको छ।

मुख्य तीन स्तम्भमा आधारित अध्ययन

अभियानका टोली प्रमुख दिपक श्रेष्ठका अनुसार विगतका गहन अध्ययनहरूका आधारमा यो कार्य अघि बढाइएको हो। यो अध्ययन मुख्यतया तीन क्षेत्रमा केन्द्रित रहनेछ:

Lahachhap
  • न्यून कार्बन पर्यटन: पर्यटन क्षेत्रबाट हुने कार्बन उत्सर्जनलाई २०–३० प्रतिशतले घटाउने।
  • स्थानीय अर्थतन्त्र: पर्यटन आम्दानीको कम्तीमा ८० प्रतिशत हिस्सा स्थानीय होमस्टे र युवा व्यवसायीसम्म पुर्‍याउने।
  • सम्पदा पुनर्जागरण: ऐतिहासिक गढी र पुराना पदमार्गलाई आधुनिक पर्यटकीय गन्तव्य बनाउने।

जनस्वास्थ्य र साहसिक खेलको संगम

अध्ययन टोलीका सदस्य तथा जनस्वास्थ्य विज्ञ दीप राजा थापाले यो अभियानले शारीरिक र सामाजिक सुस्वास्थ्यलाई समेत प्रवर्द्धन गर्ने बताउनुभयो। उहाँका अनुसार पर्माकल्चर, माइन्डफुलनेस र स्थानीय इतिहासलाई विश्वभरका पर्यटकमाझ पुर्‍याउन साइकल भ्रमण एक उत्कृष्ट माध्यम हो।

Lahachhap

त्यस्तै, नेपाल साइकल संघका सचिव तथा प्राविधिक टोली प्रमुख देवेन्द्र बस्नेतले यस ट्रेलले नेपालमा लामो दूरीको साहसिक साइक्लिङ खेल र वातावरण मैत्री पर्यटनको दोहोरो सम्भावनालाई उजागर गर्ने उल्लेख गर्नुभयो।

‘चक्रिय ट्रेल’ (Circular Trail) को नयाँ अवधारणा

यसअघि समृद्ध सिन्धुली अभियानले अध्ययन गरेको ‘एकीकरण पदमार्ग’ र नमोबुद्धदेखि फिक्कलसम्मको ‘ग्रेट महाभारत ट्रेल’लाई संयोजन गरी यो नयाँ चक्रिय मार्गको विकास गरिएको हो। स्टोरीसाइकलका सौरभ ढकाल भन्नुहुन्छ, “विगतका विभिन्न रुटहरूको सम्भाव्यता अध्ययनपछि अहिले तिनलाई एकीकृत गरी चक्रिय मार्गको रूपमा विकास गर्न जुटेका हौँ।”

यस्तो छ यात्राको रुट

Lahachhap

यो अध्ययन यात्रा ललितपुर महानगरपालिका वडा नं. ६, कनिबहालबाट सुरु भएर लुभु – लामाटार – पनौती – नमोबुद्ध – बालुवाटार – हायुगाउँ – कोटगाउँ – बन्दीपुर – नागी मजुवा – सिन्धुलीगढी – सिन्धुलीमाढी – मरिण – पञ्चकन्या पोखरी – घण्टे – हरिहरपुरगढी – फापरबारी – फूर्केचौर – मकवानपुरगढी – टीकाभैरव हुँदै पुनः कनिबहालमै पुगेर टुङ्गिनेछ। यस यात्राले बागमती प्रदेशका ऐतिहासिक किल्ला र प्राकृतिक सौन्दर्यलाई समेट्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments