सदरमुकाम धुलिखेलमा खानेपानीको हाहाकार सुरु, स्रोत रहेको पनौतीसँग संवादमा कमी

धुलिखेल/गत असोज १० देखि १२ सम्मको अविरल वर्षाका कारण सिर्जित बाढीपहिरोले सबैभन्दा बढी क्षति पनौती-१२ (साविक कलाँती भूमेडाँडा गाविस) मा गरायो । त्यो क्षतिले अहिले धुलिखेल नगरवासीका लागि प्रतिकूल प्रभाव पार्न थालेको छ ।

प्रसङ्ग हो, पनौती-१२ खारखोला मुहानस्थित धुलिखेल लगिएको खानेपानी प्रसारण पाइपहरुमा बाढीपहिरोले पुर्‍याएको क्षतिबाट सिर्जित परिस्थिति । बाढीपहिरोले मुहान, सेडिमेन्टेसन ट्यांकको सतहसम्मको संरचनाहरु र रोशी बजारसम्मका प्रसारण पाइपहरुमा ठाउँ-ठाउँमा पुर्‍याएको करोडौंको क्षति ।

बाढीपहिरोलगत्तै बन्द भएका काठमाडौं विश्वविद्यालय, धुलिखेलस्थित स्कुल कलेजहरु दशैंतिहार र छठसम्मको लामो बिदापछि खुलेका छन् । बिदा अवधिभर धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नगरवासीका साथै अस्पताल, प्रहरी र आर्मी ब्यारेकमा ‘जुगाड’ को पानीले टार्दै आएको थियो ।

तर, अहिले त्यस्तो जुगाडले पनि नथेग्ने भएपछि सदरमुकाम धुलिखेलमा खानेपानीको संकट चुलिएको छ । नगरवासीका साथै कार्यालयहरु बनेपा र आसपासबाट महँगोमा ट्यांकरको पानी ओसार्न बाध्य भएका छन् । समितिले विभिन्न टोलमा ट्यांकरमार्फत पानी वितरण गर्दै आएको भए पनि विगतमा झैं पर्याप्त नरहेको भन्दै गुनासो बढ्न थालेको छ ।

खारखोलाबाट अलग्गै र केही वर्ष अगाडिबाट भूमेडाँडा र कुशादेवीक्षेत्रका मुहान प्रयोगमार्फत काभ्रे उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ल्याएको खानेपानी पनि धुलिखेलमा उपयोग हुँदै आएको थियो । अहिले समिति र बोर्ड दुबैका प्रसारण पाइपहरुमा करोडौं मूल्यको क्षति भएको छ ।

यसबाट रोशी जलाधारक्षेत्रको पानी आपूर्ति शुन्य भएको छ । यतिखेर धुलिखेलमात्रै नभई पनौतीकै वडा नं ७, ४ र ५ का साथे बनेपा बजारमा पनि अभाव सुरु भएको छ । यी क्षेत्रमा पनि बोर्डको पानी सप्लाई हुन थालेको थियो । यद्यपि बोर्डले सञ्चालन गरेको खानेपानी आयोजना पुरा भने भएको छैन ।

उता, समितिका प्राविधिकहरुले स्थलगत रुपमै अवलोकनपश्चात ‘जर्मन खानेपानी’ पुनः सञ्चालनमा धेरै समस्या नरहेको जानकारी दिएका छन् । विगतमा धुलिखेल खानेपानीको प्रसारण पाइपलाइन स्थानीयको खेतबारीबाटै लगिएकोले केही ठाउँमा मात्रै पहिरो र भेलले क्षति पुर्‍याएको देखिन्छ ।

विगतदेखि नै उपयोग हुँदै आएको मुहान र प्रसारण पाइपको क्षति यकीन र मर्मतका लागि खारखोला पुगेका समितिका प्राविधिकहरुलाई स्थानीयले फिर्ता पठाइदिएको भिडियो यतिखेर भाइरल भएको छ । त्यसलगत्तै समर्थन र विरोधमा कमेन्टहरुको बाढी आइरहेको छ ।

सोसल मिडियामा जसले जे राखे पनि विगतमा पानी खुवाएर गुण लगाउने व्यक्तिहरु अहिले कसरी वैगुणी हुन्छन् भन्ने चर्चा पनि हुन थालेको छ । मुहानका लागि अमुल्य सहयोग गर्ने भूमेडाँडावासीका साथै प्रसारण पाइप गाड्ने क्रममा सहयोग गर्ने हाल पनौती-८, ४,५ र ९ (साविकका गाविसहरु मल्पी, टौखाल, सुन्थान र सुब्बागाउँ)का स्थानीयहरुले हिजोझैं सहयोग गर्नेमा धुलिखेलवासी विश्वस्त रहेका देखिन्छन् ।

विगतमा पनि अभाव झेलेका थिए

जनआन्दोलन २०६२/६३ उत्कर्षमा पुगिरहँदा धुलिखेलबाट करीब १४ किलोमीटर टाढा रहेको खारखोला मुहानबाट ल्याइएको प्रसारण पाइपलाई ठाउँ ठाउँमा क्षति पुर्‍याइएको थियो । खानेपानी आयोजनाको डिजाइन हुँदा र जर्मन दाताले सहयोग गर्ने क्रममा तोकिएका वडा र जनसंख्यालाईमात्रै नभई संघीयता अघिको धुलिखेल नगरपालिकाका सबै ठाउँमा ‘जर्मन खानेपानी’ पाउनु पर्ने चर्को माग थियो ।

त्यतिखेर पनि २ हप्ता धुलिखेलमा पानीको हाहाकार भएको थियो । काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, होटलहरुले वैकल्पिक स्रोत खोजेका थिए । त्यही अवस्थालाई हेरेर यतिखेर धुलिखेलका अधिकांश होटलरिसोर्ट र अस्पतालले डिप बोरिङ गरेर पानीको व्यवस्थापन गर्दै आएका छन् । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना पनि भविष्यमा आउन सक्ने पानी अभावको आँकलन गरी सुरु भएको मानिन्छ ।

यस पटक धुलिखेलमा पानीको अभाव भएको ४५ दिन नाघिसकेको छ । चोक चोक र होटल पसलमा एउटै कुराको चर्चा हुने गरेको छ-‘हामीले खाइपाई आएको पानी अहिलेसम्म किन ल्याउन सकिएन । कसको कमजोरीले यस्तो अवस्था आएको हो?’

अधिकांशले स्रोतको संरक्षक र सरोकारवाला मानिएका पनौती-१२, रोशी जलाधारक्षेत्रका स्थानीयसँग तत्काल र निरन्तर संवाद हुन नसकेको भन्दै धुलिखेल नगरका नेतृत्वसँग आक्रोश पोखेका छन् । समस्यामा एकजुट हुने नगरका राजनीतिक दलहरुको मौनतालाई पनि धुलिखेलवासीले आश्चार्यका रुपमा लिएका छन् ।

हुनपनि अघिल्लो पटक (२०६२/६३)को खानेपानी हाहाकारमा धुलिखेलका राजनीतिक दलहरु र नागरिक समाजका अगुवाहरु स्वस्फूर्त रुपमा संवाद र वार्तामा उत्रेका थिए । त्यतिखेरको सबै मागहरु तत्काल सम्बोधन भए । यसैको परिणामस्वरुप सबै क्षेत्रमा हालसम्म निरन्तर खानेपानी खुवाउन समिति सक्षम थियो । तर, प्रकृतिले नै विपद् ल्याएपछि नसोचेको अभाव आइलाग्यो ।

‘निरन्तर संवाद र पहलमा छौं’: उप-प्रमुख जङ्गम

बाढीपहिरोको प्रकोप सुरु भएलगत्तै बन्द भएको जर्मन खानेपानीलाई पुनः सुचारुका लागि यतिखेर धुलिखेल नगरका उप-प्रमुख निराजन जङ्गम सरोकारवालाहरुसँगको निरन्तर भेटघाट र छलफलमा रहेका भेटिन्छन् । उनका अनुसार धुलिखेल खानेपानीको पुनःनिर्माण गर्न तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको छ । यसका लागि जर्मन राजदुतमार्फत जर्मन सरकारलाई अनुरोध गरिसकिएको बताए ।

आइतबार पूर्व प्रदेश मन्त्री बसुन्धरा हुमागाईं र पनौती नगर प्रमुख रामशरण भण्डारी र पनौती १२ नम्बरका वडा अध्यक्षसँग जङ्गमले वार्ता गरेका थिए । वार्तापश्चात उनी उत्साही देखिएका छन् । अबको २ देखि ३ हप्ताभित्रमा खानेपानी सुचारु हुनेमा ढुक्क देखिएका छन् ।

उनी भन्छन्, ‘उपभोक्ता समितिले पनि कुराकानी अघि बढाइरहेको छ । मैले पनि पनौती-१२ नम्बरका वडाध्यक्ष तथा समाजसेवी तथा पूर्व प्रदेश मन्त्री बसुन्धारा हुमागाईं र पनौती नगर प्रमुखसँग कुराकानी गरिरहेको छु । हुमागाईं तत्कालीन गाविस अध्यक्ष हुँदाकै बखत उहाँकै सहयोगमा मुहान दर्ता भएको थियो । सबैसँग कुराकानी सकारात्मक रुपमा अघि बढेको छ । अब २, ४ दिनमा प्रोसेस अघि बढ्छ र १५ देखि २० दिनभित्रमा धुलिखेलमा पानी आइपुग्छ,’ जङ्गमले थपे ।

यस्तै, जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा आइतबार पहिलो पटक उपस्थित भएका धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले पनि समितिलाई धुलिखेल खानेपानी र काभ्रे उपत्यका एकीकृत खानेपानीको पुननिर्माणका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

बैठकले निणर्यमा भनेको छ-२०८१ असोज १०, ११ र १२ गते परेको अविरल वर्षातका कारण बाढीपहिरोका कारण पूर्ण रुपमा क्षति भएको धुलिखेल खानेपानी आयोजना र काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आवश्यक पहलको लागि सिफारिस गर्ने ।

‘हाम्रा पानीका मुहान र स्रोतहरु एकीकृत खानेपानीका नाममा कब्जामा’: नगर प्रमुख भण्डारी

हामीले कसैलाई पानी रोकेर ठुलो मान्छे बन्ने, पानी दिएर सानो मान्छे बन्ने होइन । हामीले पानी रोक्न खोजेको पनि छैनौं । बाहिर सामाजिक सञ्जालमा, अन्य कुराहरुमा के-के आए मलाई थाहा भएन ।

सबैलाई पानी खुवाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । तर, हाम्रा क्षेत्रमा भएका पानीका मुहान र स्रोतहरु एकीकृत खानेपानीका नाममा कब्जामा छन् । बलमिच्याइँ गर्ने नै हो भने ती पानीहरु हामीले जथाभावी पाइपहरु राखेर ल्याउन पनि सक्छौं, तर हामी त्यसो गर्न चाहन्नौं ।

सबैलाई पानी खुवाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । यद्यपि पनौतीकै समस्यालाई बेवास्ता गरेर धुलिखेल, बनेपामा लैजाने भन्ने कुरा त्यति सुहाउँदो कुरा भएन ।

हामीलाई तत्काललाई धेरै ठुलो बजेट पनि चाहिने छैन । अब शहरी विकासले या सम्बन्धित निकायले तत्कालका लागि पानी खाने व्यवस्थापन गर्नका लागि केही बजेट छुट्ट्याएर त्यसको व्यवस्थापन गरिदिएमा पनौतीले पनि पानी खान्छ, धुलिखेल बनेपातिर पनि पानी जान्छ । सबैतिर पानी पठाउनका लागि हामी प्रयत्न गरिरहेका छौं ।

त्यस क्रममा हामी पूर्व माननीयहरु, जनप्रतिनिधिज्यूहरुसँग बसेर निरन्तर छलफल र संवाद गरिरहेका छौं । हामीले पानी पठाउने नै हो, तर हामीलाई नै पानी नखुवाइकन हाम्रै स्रोतबाट पानी जाँदाखेरि यो के गर्न खोजेको हो भन्ने हाम्रो प्रतिक्रिया हो । अरु कुरा केही होइन हामी पानी खुवाउने प्रयत्न गरि नै रहेका छौं ।

तर, हामीलाई बेवास्ता गरियो, वास्ता नै गरिएन । आजका दिनसम्म के छ अवस्था भनेर सोध्न कोही आएको छैन । पानीको अवस्था के छ भनेर बुझ्न कोही आएको छैन । सहयोग गर्ने प्रतिवद्धता कसैले गरेको छैन । (कुराकानीको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
2 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments