बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा/ गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताउनुभयो । उहाँका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो ।

कम्पनीले रु ३१ अर्ब ३२ करोडको लागतमा बूढीगण्डकी ‘क’ र रु ५६ अर्ब ९९ करोडको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिनुभयो । बूढीगण्डकी ‘क’ अन्तरगत, धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ ।

आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । एक सय ११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभयो । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ ।

दुई सय २६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९ दशमलव ५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभएको छ ।

“यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ”, उहाँले भन्नुभयो, “भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ ।”

यहाँ उत्पादन भएको र बूढीगण्डकी क बाट प्राप्त भएको गरी ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ ।

बूढीगण्डकी ‘क’को संक्षिप्त विवरण

जिल्ला : गोरखा
दूरी : काठमाडौंबाट ११० किलोमिटर
क्षमता : १०३.४ मेगावाट
वार्षिक ऊर्जा : १६४.६ गिगावाट घन्टा
आरओई : ९.७ प्रतिशत
विद्युतगृह : भूमिगत
ऋण र स्वपुजी लगानी अनुपात : ८० र २० प्रतिशत
लागत : २५ करोड ५३ लाख अमेरिकी डलर
ऋण तिर्ने अवधि : ८ वर्ष

बूढीगण्डकी ‘ख’को संक्षिप्त विवरण

क्षमता : २२६ मेगावाट
वार्षिक ऊर्जा : ५४३.९२ गिगावाट घन्टा
आईआरआर : ९.३६ प्रतिशत
विद्युतगृह : भूमिगत
ऋण र स्वपुजी लगानी अनुपात : ८० र २० प्रतिशत
लागत : ५४ करोड ३४ लाख ६० हजार अमेरिकी डलर
ऋण तिर्ने अवधि : १३.२० वर्ष
प्रसारण लाइन : ४५ किलोमिटर, ४०० केभी
विद्युत जोडिने सबस्टेसन : धादिङको रातमाटे ४०० केभी सबस्टेसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments