पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप

चितवन / कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ ।

सो सङ्कायमा ५० जनाको कोटा रहेकामा अब यही शैक्षिक सत्रदेखि एक सय विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् ।

सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेतले नेपाल भेटेरिनरी काउन्सिलबाट थप ५० सिटका लागि अस्थायी मान्यता प्राप्त गरी विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गरेको जानकारी दिनुभयो ।

सो विश्वविद्यालयले यही कात्तिक १३ गते सूचना प्रकाशित गरी आगामी मङ्सिर १३ गतेसम्म योग्यता पुगेका विद्यार्थीबाट आवेदन माग गरेको छ ।

साविकको ५० कोटामध्ये योग्यताक्रम (मेरिट)का आधारमा २०, प्रादेशिक सात, स्थानीय दुई, छात्रा दुई, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्ग, द्वन्द्वपीडित र सहिद परिवार र कर्मचारी कोटामा एक/एक जनालाई पूर्ण तथा आंशिक सहुलियतसहित बाँकी १४ कोटाको हकमा पूर्ण शुल्क लिएर भर्ना गर्ने व्यवस्था विश्वविद्यालयले गरेको छ ।

विश्वविद्यालय विकास कोष कोटाअन्तर्गत अध्ययन गर्ने १४ विद्यार्थीले पाँच वर्षको रु.छ लाख बुझाउनुपर्छ ।

अहिले थप गरिएका ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले भने रु.१२ लाख शुल्क किस्ताबन्दीमा बुझाउनुपर्ने प्रावधान रहेको डीन बस्नेतले जानकारी दिनुभयो ।

साविक ५० कोटाअन्तर्गतका विद्यार्थी भर्ना गरेपछि मात्रै थपिएको ५० कोटामा भर्ना गरिने छ । सोही सङ्कायले मत्स्य विज्ञानका २१ सिटमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ । मत्स्य विज्ञान अध्ययन गर्ने विद्यार्थीले रु.तीन लाख १० हजार शुल्क बुझाउनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments