पुस्तक चर्चा :

चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ / विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति राष्ट्रको रूपमा मात्र नभएर आगामी शताब्दीलाई पनि आफ्नो अनुकूल हिँडाउन सक्षम रहने यसले लिएका आर्थिक विकासका रणनीतिहरूले सहजै अनुमान लगाउन सकिन्छ ।

उक्काइसौँ शताब्दीको जटिल र परस्पर सम्बद्ध विश्वमा चीनले आफ्नो अनौठो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक अनुभवका आधारमा विकास, सुशासन र अन्तरराष्ट्रिय सम्बन्धका लागि एक व्यवस्थित दृष्टिकोण विकास गरेको छ । यो दृष्टिकोण केवल आर्थिक सूचाङ्कमा मात्र केन्द्रित नभएर मानव समुदायको भविष्यका लागि साझा भाग्यको एक सामूहिक खोजीमा आधारित छ ।

भूगोलले मात्र नभई सदिऔँदेखिको सम्बन्धले नेपाल चीनको असल मित्रराष्ट्र हो तर चीनबाट नेपालले जे जति सहयोग लिन सक्नुपर्ने हो त्यसमा भने सन्तुष्ट हुन सक्ने ठाउँ रहेको छैन । चीनले लिएका पछिल्ला नीतिहरूका बारेमा नेपालले गहन रूपमा आत्मसात गर्न नसकेको मात्र होइन, त्यसको त्यसको अन्त्र्यलाई बुझ्नुभन्दा अपव्याख्या गर्ने प्रवृत्तिले गर्दा पनि अनावश्यक विवाद सिर्जना भई सहयोगका ढोकाहरू राम्ररी खुल्न सकेका छैनन् । आम सर्वसाधारणमा मात्र होइन, राजनीतिक नेतृत्वहरूमा नै चीनप्रतिको बुझाइ निकै कम रहेको अवस्थामा चीनले लिएका पछिल्ला रणनीतिहरूका बारेमा स्पष्ट गराउने गरी लामो समय चीनमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार चेतनाथ आचार्यद्वारा लिखित चिनियाँ दृष्टिकोण नामक पुस्तक नेपालका राजनीतिकर्मी, विद्यार्थी, प्राध्यापक, पत्रकार, कूटनीतिकर्मी, खोज अनुसन्धानकर्तालगायत चीनका बारेमा चासो राख्ने सर्वसाधारण सबैका लागि लाभदायक नै हुनेछ । आचार्यले यस अगाडि पनि चीनका बारेमा थुप्रै पुस्तक लेखिसक्नुभएको छ ।

पुस्तकमा चिनियाँ दृष्टिकोणका आधारभूत मान्यताहरू जस्तै जिडीआई, जिएसआई, जिसीआई, बिआरआई, जिजीआई र चीनमा कार्यमूलक लोकतन्त्रको महत्त्वका बारेमा जानकारी दिइएको छ । यी नीतिहरूका बारेमा विस्तृत रूपमा अध्ययन पुस्तकबाट सम्भव नहुने भए पनि सारभूत कुराहरू थाहा पाउन भने सकिन्छ । चीनले विश्वव्यापी समृद्धिका लागि ल्याएको जिडीआई, जीएसआई, जिसीआइजस्ता मान्यताहरूलाई नै चिनियाँ दृष्टिकोण भनिन्छ । यिनै विषयवस्तुहरूलाई लेखकले पुस्तकमा विवेचना गर्न खोज्नुभएको छ । पुस्तकमा समाविष्ट अधिकांश सामग्री अङ्ग्रेजी भाषाबाट अनुवाद र सम्पादन गरिएको कुरालाई लेखकले स्वीकार्नु मात्र भएको छैन, सन्दर्भ सामग्रीका रूपमा मूलस्रोतका लिङ्कहरू राखिदिएकाले त्यसमा थप अध्ययन गर्न चाहनेहरूका लागि ढोका पनि खोलिदिनुभएको छ । पछिल्लो समय चीनले नेपालबाट विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरेर यी र यस्तै विषयमा प्रशिक्षणहरू सञ्चालन गर्दै आए पनि ती पर्याप्त हुन सक्दैनन् । यस पुस्तकले त्यो अप्रयाप्ततालाई पूरा गर्न सहयोग गर्ने नै छ ।

जिडीआई चिनियाँ विदेश नीति र विश्वशासन दर्शनको मूलभूत सिद्धान्त हो । जिडीआईले आर्थिक असमानता, जलवायु परिवर्तन र महामारीजस्ता विश्वव्यापी चुनौतीहरूको सामनाका लागि एकजुट हुन आवश्यक रहेको कुरामा जोड दिने गरेको छ । जिडीआईले विकासलाई प्राथमिकता दिन्छ, विशेष गरी संयुक्त राष्ट्र सङ्घको सतक विकास लक्ष्य २०३० लाई पूरा गर्ने सङ्कल्पलाई बलियो बनाउँदछ । गरिबी निवारण, खाद्य सुरक्षा र स्वच्छ ऊर्जाजस्ता क्षेत्रहरूमा सहकार्यलाई बढावा दिँदै यस पहलले विकासशील राष्ट्रहरूलाई ‘सही क्षमता निर्माण’मार्फत आत्मनिर्भर बन्न र विश्व अर्थतन्त्रमा सहभागी हुन सहयोग गर्ने उद्देश्यले विश्वव्यापी विकास असमानतालाई घटाउने प्रयत्न गर्छ ।

एक्काइसौँ शताब्दीमा परम्परागत र गैरपरम्परागत चुनौतीहरू थपिँदै गएको सन्दर्भमा चीनले विश्वव्यापी सुरक्षा अभियान ‘जिएसआई’ ल्याएर समस्याहरूको सामूहिक निराकरणमा अग्रसरता देखाएको छ । एक अकार्काको सांस्कृतिक सभ्यताको सम्मान गर्दै सद्भावपूर्ण वातावरण सिर्जना गर्नका लागि चीनले अगाडि सारेको विश्वव्यापी सभ्यता अभियान ‘जिसीआई’ अहिले लोकप्रिय बनेको छ । विश्वव्यापी सभ्यता पहलअर्थात् जीसीआई भनेर चिनिने एक नयाँ अन्तर्राष्ट्रिय पहल चीनले सार्वजनिक गरेको छ । यसको मुख्य उद्देश्य अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिएर विश्वव्यापी चुनौतीहरू समाधान गर्नु हो । यसले सार्वभौमिक समानता, अन्तरराष्ट्रिय कानुन, बहुपक्षवाद, मानव केन्द्रित दृष्टिकोण र ठोस कार्यहरूमा केन्द्रित नीति बोकेको छ । चीनले संयुक्त राष्ट्रसङ्घको केन्द्रीय भूमिकालाई कायम राख्न र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउन यो पहल ल्याएको हो । यो पहल भविष्यको विश्व व्यवस्थाका बारेमा चीनको दृष्टिकोणको एक भाग हो ।

जिडीआई, जिएसआई र जिसीआईका सिद्धान्तहरूलाई कार्यान्वयन गर्ने एक व्यावहारिक र ठोस मञ्च हो बीआरआई । यो एसिया, युरोप, अफ्रिका र अन्य क्षेत्रहरूबीच आधारभूत संरचना, व्यापार र वित्तीय एकीकरणलाई बढावा दिने एक महत्त्वाकांक्षी परियोजना हो । यसले सडक, रेलवे, बन्दरगाह र ऊर्जा परियोजनाहरूमार्फत यातायात लागत घटाएर व्यापार र लगानीलाई सुविधाजनक बनाउँछ । अहिले पनि धेरै विकासशील राष्ट्रहरूले आधारभूत संरचनाको अभाव भोगिरहेका छन् । बीआरआईले ती देशहरूलाई आर्थिक विकासका लागि आवश्यक भौतिक आधार निर्माण गर्न सहयोग गर्दछ । बीआरआईले एक पक्षीय लाभको सट्टा पारस्परिक रूपले फाइदाजनक सहकार्यमा जोड दिन्छ । यसले सहभागी राष्ट्रहरूको अर्थतन्त्रलाई गति दिन्छ भने चीनलाई नयाँ बजारहरू र साझेदारहरू प्राप्त हुन्छन् । शान्ति, सहकार्य, सद्भाव र पारस्परिक लाभमा आधारित विश्वको पुनः कल्पना गरेका छन् ।

मकालु प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो पुस्तकमा २७ वटा लेखहरू समावेश गरिएका छन् । चीनले विश्वलाई बाँडिरहेको विकास, शान्ति, सुरक्षा, सभ्यताजस्ता दृष्टिकोणलाई समेटेर लेखिएको यो पुस्तक ‘चिनियाँ दृष्टिकोण’ प्रकाशन गर्न पाउँदा गौरवान्वित भएको बताउँदै प्रकाशन गृहका प्रमुख वासुदेव ढकालले प्रकाशकीयमा लेख्नुभएको छ–चीनले आफू मात्र विकसित नभई छिमेकी मुलुकहरूलाई पनि विकासका भँगालाहरूमा समेट्दै अगाडि बढ्दा चीनले प्राप्त गरेको समृद्धि अरू मुलुकलाई पनि बाँड्दै आएको छ । चीनका यी दृष्टिकोण चीनका लागि मात्र नभएर बाह्य जगतका लागि लाभदायक छन् । विश्वलाई विकासका उल्लिखित नमूना वितरण गर्ने हैसियत बनाएको चीनले आन्तिरिक रूपमा चाहिँ अनुपम प्रजातन्त्र अँगालेको छ । समग्रमा पुस्तक जीडीआई, जिएसआई, जिसीआई, बिआरआई र कार्यमूलक लोकतन्त्र विश्व शासन र विकासका लागि दूरदर्शी र रोडम्याप बुझ्नका लागि उपयोगी छ ।

  • कृष्ण अधिकारी/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments