बर्दिया/ नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जका रुपमा घोषणा भएको हो ।
यस निकुञ्जले बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही भागसमेत समेटेको छ । यसको कुल क्षेत्रफल ९६८ वर्गकिलोमिटर रहेको छभने यसको मध्यवर्ती क्षेत्र ५०७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । स्थानीय जनतालाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नेगरी २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।
निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भेगमा केही सल्लाका जङ्गल रहे पनि तराईतर्फको अधिकांश भाग सालको जङ्गलले ढाक्नाका साथै बीचमा विशाल घाँसेमैदान रहेका छन् । विशेषतः पाटेबाघको मुख्य वासस्थान क्षेत्र रहेका कारण उनीहरूको आहारा प्रजातिको वासस्थान संरक्षण गर्ने उद्देश्यले यस निकुञ्जको स्थापना गरिएको हो ।
सन् २०२२ को गणनाअनुसार यस निकुञ्जमा १२५ वटाको सङ्ख्यामा बाघ रहेको बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीले जानकारी दिनुुभयो । उहाँका अनुुसार विश्वका १३ वटा देशमा चार हजार ८०० को सङ्ख्यामा बाघ भएको पाइएको छ । बाघ भूमिका रुपमा बर्दियाले आफ्नो विशिष्ट स्थान बनाएको बताउँदै चौधरीले यो क्षेत्र नमूना सिकाइको ठाउँका रुपमा पनि विकास भएको बताउनुुभयो ।
“बाघकै कारण विश्वको ध्यान बर्दियामा आकर्षित भएको छ, यहाँ बाघका ठूला ठूला अनुसन्धानसँगै विभिन्न डकुमेन्ट्री पनि बनेका छन्”, उहाँले भन्नुुभयो ।
बाघसँगै अन्य जनावरका साथै विविधतायुक्त वनस्पति समेतले यो पर्या–पर्यटनको विशिष्ट गन्तव्यका रुपमा स्वदेश एवम् विदेशमा चासो र चर्चा कमाइरहेको उहाँले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघसँगै हात्ती, एकसिङे गैँडालगायत ६२ भन्दा बढी स्तनधारी प्रजातिका जनावर रहेका छन् ।
यस निकुञ्जमा ५१५ भन्दा बढी प्रजातिका चरा, विभिन्न प्रजातिका घस्रने वन्यजन्तुका साथै १२१ प्रजातिका माछा पाइने उक्त क्षेत्रमा पर्यटक पथप्रदर्शका रुपमा काम गर्दै आउनुुभएकी मञ्जु महतराले जानकारी दिनुुभयो । पर्या–पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनी स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढिरहेको उहाँले जानकारी दिनुुभयो ।
यहाँ आउने पर्यटकका लागि निकुञ्जले प्रवेश शुल्क वापत नेपालीका लागि एक सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ७५० रुपैयाँ र विदेशी पर्यटकका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । यहाँ घुम्नका लागि प्रयोग हुने जीप, पर्यटक पथप्रदर्शकका लागि भने थप शुल्क लाग्ने गर्दछ ।
संसारमा सजिलै बाघ देख्न सकिने ठाउँका रुपमा ठूलो संख्यामा विदेशी पर्यटकको पनि आगमन बढिरहेको बताउँदै उहाँले पछिल्ला वर्षमा आन्तिरिक पर्यटकको आगमन पनि उत्साहजनक रुपमा बढेको जानकारी दिनुुभयो ।
निकुञ्जअन्तर्गत हालसम्म तीन वटा सेक्टर, आठ वटा रेन्जपोस्ट र २४ वटा पोस्टबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सार्वजनिक सेवासम्बन्धी कार्य हुँदै आएका छन् । नेपालको दोस्रो ठूलो सङ्ख्यामा प्रभावकारी रूपमा बाघ संरक्षण भएको यो निकुञ्जले २०२२ मा बाघ दोब्बर बनाउन सफल भएको थियो । त्यसबापत निकुञ्ज टिएक्सटु पुरस्कारबाट सम्मानित भएको थियो ।
यो निकुञ्ज सफल रूपमा गैँडाको स्थानान्तरण भएको राष्ट्रिय निकुञ्जका रूपमा समेत चर्चित छ । यस निकुञ्जमा ३८ वटा एकसिङे गैँडा तथा १२० भन्दा बढी हात्ती रहेको महतराले जानकारी दिनुुभयो । निकुञ्जमा बाह्रसिङ्गा,घडियाल गोही आदि रहेका छन् । निकुञ्जमा आउने पर्यटकहरू यहाँ देखिने बाघ, गैडा, हात्ति, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै जैविक विविधता हेर्न लोभिने गरेको उहाँले बताउनुुभयो ।
निकुञ्जका कारण यहाँको पर्यटनमा विशिष्ट योगदान पुुगेको विगत ३१ वर्षदेखि यस क्षेत्रमा जङ्गल हेभेन होटेल एण्ड कटेज सञ्चालन गर्दै आउनुुभएका पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले जानकारी दिनुुभयो । उहाँका अनुसार यस क्षेत्रमा आउने पर्यटकका लागि स्तरीय खाने, बस्ने सुविधा रहेका छ ।
विशेषतः २०६२÷६३ देखि नेपालीमा पनि घुम्ने क्रम निकै बढिरहेको बताउँदै उहाँले पछिल्लो समयमा आन्तरिक एवम् विदेशी पर्यटकको आगमन निरन्तर हुने गरेको जानकारी दिनुुभयो । देशका विभिन्न भागबाट आउने आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकहरू आउने गरेको यस निकुञ्ज विद्यार्थीहरुको सिकाइ उपलब्धि गर्ने थलोका रुपमा समेत विकास भैरहेको उहाँको भनाइ छ ।
निकुञ्ज क्षेत्रमा स्तरीय पर्यटकीय होटल तथा होमस्टे भएका कारण यहाँ आउने जो कोहीलाई खान बस्नको कुनै असुविधा नरहेको उहाँले बताउनुुभयो । कोरोना कहरअघि आगमन उत्साजनक रुपमा बढेकामा कोरोना कहरका कारण केही समय प्रभावित बनेको यहाँको पर्यटन पुनः चलायमान भइरहेको यहाँका पर्यटन व्यवसायीहरू बताउँछन् ।
बाघ नै यहाँका मुख्य आकर्षण रहेको र यो बाघको उर्बर भूमिका रुपमा परिचित छ । पर्या–पर्यटन विकास मञ्च, ठाकुरद्वाराका अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुुसार बर्दिया राष्ट्रिय निकुञ्जमा प्रतिवर्ग किलोमिटरमा ९६ प्रजातिका बाघका आहारा प्रजातिका जनावर पाइन्छन् । सन् २०१९ मा यस निकुञ्ज संसारकै घुम्नैपर्ने गन्तव्यका रुपमा सूचीकृत भएको थियो ।
यहाँको संरक्षण एवम् प्रवद्र्धनका लागि राष्ट्रिय निकुञ्ज व्यवस्थापन, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसियसन, समुदायमा आधारित वन्यजन्तु तस्करीविरुद्ध काम गर्ने एकाइ, चरा प्रकृति संरक्षण क्लब, मध्यवर्ती समिति, नेपाल पर्यटन बोर्ड, ठाकुरबाबा नगरपालिकालगायत संस्थाहरू सक्रिय छन् ।
निकुञ्ज आसपासको सांस्कृतिक मौलिकता पनि आफैँमा विशिष्ट छ । थारु जातिको बस्ती, रहनसहन, संस्कृति, खानपिनले पनि यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आन्तरिक पर्यटकहरू जीप वा पैदल जङ्गल सफारी, फिसिङ, ¥याफ्टिङ, चरा अवलोकन, हात्ती सयर, क्याम्पिङ, सङ्ग्रहालय भ्रमण, गोही तथा हात्ती प्रजनन् केन्द्र भ्रमणजस्ता विविध पर्यटकीय गतिविधिमा रमाउने गरेका छन् ।
हालसम्मको अवस्थामा यहाँ आएका आन्तरिक पर्यटक सामान्यतः एक रात मात्र बिताउँछन् । बर्दियामा पर्यटकको बसाइ कसरी लम्ब्याउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित भएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
अर्का पर्यटक पथप्रदर्शक रेशम थापाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज मानवरहित नदीमा बसेर बाघ हेर्न पाउने गन्तव्य पनि हो । चरा पर्यटनका लागि पनि यो उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुुभयो । “बर्दिया राष्ट्रिय निकुञ्जमा पैदल यात्रा गरेर पनि यहाँका बन्यजन्तुु, वनस्पति आदि हेर्न सकिन्छ”, उहाँले भन्नुुभयो, “राम्रोसँग हेर्ने घुुम्ने हो भने यहाँ चार÷पाँच दिन बसेर घुम्न सकिने अवस्था छ ।” बर्दिया पर्या–पर्यटनका दृष्टिले पनि विशिष्ट गन्तव्य बनिरहेको उल्लेख गर्दै उहाँले बर्दियामा विभिन्न स्वदेशी एवम् विदेशी संस्थाले यहाँ बृत्तचित्रहरू पनि बनाएको जानकारी दिनुुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज चरा पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा स्वद्ेशी एवम् विदेशी पर्यटकको गन्तव्य बनिरहेको चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहनुुभएका पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुुहुन्छ ।
उहाँका अनुुसार कर्णाली चिसापानीदेखि डुुङ्गामा शयर गर्दै धेरै प्रजातिका चराहरू अवलोकन गर्दै पर्यटकहरू यहाँको गेरुवा खोलासम्म पुग्ने गर्दछन् । चिसापनीदेखि गेरुवा खोलासम्म चराहरू हेर्दै डुुङ्गमा शयर गर्न सकिने बताउँदै उहाँले त्यसका लागि एक दिन छुट्याउनुुपर्ने जानकारी दिनुुभयो ।
प्राकृतिक रुपमा सम्पन्न यस क्षेत्रको प्रवद्र्धनका लागि आफूहरू निरन्तर लागिरहेको ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले जानकारी दिनुुभयो । यी सम्भावनालाई उजागर गर्न राज्यका तीनवटै निकाय लाग्नुु जरुरी रहेको बताउँदै उहाँले संरक्षणमा राज्य र नागरिक दुुबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।
हालै होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा पोखराको लेखनाथ क्षेत्रका पर्यटन व्यवसायीले ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रमका साथ बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन गरेका थिए । आन्तरिक पर्यटनलाई चलायमान बनाउनका साथै विभिन्न गन्तव्यका पर्यटन व्यवसायीहरूको व्यवसायिक साझेदारी बढाउनका लागि यस किसिमका प्रवद्र्धन कार्यक्रमलाई जोड दिइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुुभयो ।
“बर्दिया र पोखरा दुुबै आफैँमा महत्वपूर्ण गन्तव्य हुन्”, उहाँले भन्नुुभयो, “बर्दियामा विभिन्न सीमा नाका हुँदै आउने भारतीय पर्यटकका साथै तेस्रो मुलुकबाट आउने आउने पर्यटकलाई पोखरासम्म ल्याउनका लागि पनि यस्ता कार्यक्रमले सहयोग पुग्ने हाम्रो विश्वास छ ।”
पोखराबाट नेपालगञ्जको सिधा उडानसमेत भइरहेको अवस्थामा बर्दिया आएका पर्यटक नेपालगञ्ज विमानस्थलबाट पोखरा र पोखरा आएका पर्यटकलाई सिधा उडानमार्फत नेपालगञ्ज हुँदै बर्दिया पु¥याउन सकिने सम्भावना छ । पर्या–पर्यटन पर्यटनको महत्वपूर्ण आधार भएको हुँदा देशभित्रका यस्ता गन्तव्यहरूको प्रवद्र्धन र विकासमा राज्यको चासो पुग्नुपर्ने देखिन्छ ।–वासुदेव पौडेल / रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित