देशभर कृषि सर्वेक्षण गरिँदै

काठमाडौँ/कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो ।

तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने छ ।

गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन् । नमूना विधिका माध्यमबाट सङ्कलन गरिने तथ्याङ्कमा पहिलो चरणमा छ लाख किसान छनोट गरिने रेग्मीले जानकारी दिनुभयो । तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्याङ्क सङ्कलन गरिने छ ।

राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ । देशभर तथ्याङ्क सङ्कलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम परिणाम आगामी पुससम्म सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सर्वेक्षण तथा तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कृषि नीति तथा योजना तर्जुमा गर्न वैज्ञानिक आधार तयार पार्न तथ्याङ्क महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments