नेपाली समाज टेक्ससको नेतृत्वका लागि काभ्रेपलाञ्चोकका भण्डारीको भुसालसँग प्रतिस्पर्धा

अमेरिका/आगामी दुई वर्षको नेपाली समाज टेक्ससको नेतृत्वका लागि दुई जनाले दाबी पेस गरेका छन् ।

नेपाली समाज टेक्ससको उमेदवारी दर्ता गर्ने अन्तिम समय मंगलबार साँझ ७ः०० बजेसम्ममा वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र महासचिव विजय भुसालले अध्यक्षमा मनोनयन पत्र दर्ता गरेका छन् । भुसालले अध्यक्षमा दाबी गर्दै सोमबार नै उमेदवारी दर्ता गराइसकेका थिए । भण्डारीले भने मंगलबार दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीअनुसार चुनाव हुने १६ पदहरुमा हरेकमा दुई दुई जनाको उमेदवारी दर्ता भएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा जीवलाल भुसाल र चण्डी भण्डारी, महिला उपाध्यक्षमा शान्ता गिरी र राधिका खराल, खुल्ला उपाध्यक्षमा दिलीप राई र गुञ्जन भण्डारी, महासचिवमा प्रविश श्रेष्ठ र रामकृष्ण यादव, सचिवमा सुशील बर्तौला र नारायण केसी, कोषाध्यक्षमा भोला मैनाली (विपी) र प्रेम थापा (आदित्य), सहकोषाध्यक्षमा रिन्जिन लामा र कान्ति नेपाल लगायतको उमेदवारी परेको छ ।

कार्यसमितिका पाँच सदस्यहरुमा ११ जनाको उमेदवारी परेको छ । नेपाली समाज टेक्ससको चुनावमा प्यानलको हिसावले दुवै पक्ष अघि बढेको महसुस सदस्यहरुले गरेका छन् ।

आउँदो डिसेम्बर १३ तारिकमा हुने निर्वाचनका लागि ६ हजार १०० सदस्यहरु मतदानको लागि योग्य छन् । निर्वाचन आयोगले उम्मेदवारहरुमाथि दाबी विरोधका लागि बुधबारको समय दिएको छ । विधानले अयोग्य उमेदवारहरु माथि परेको दाबी विरोधपछि बिहीबार साँझ अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेसमेत जनाइएको छ ।

यसपटक चार जना व्यक्तिहरु अध्यक्षमा लागि चर्चामा थिए । तर, अन्तिम समयमा उपाध्यक्ष बलराम पौडेल र किरण पौडेल समाजको एकता एवम् सामाजिक सद्भावका लागि भन्दै उमेदवारी नदिने घोषणा गरेका छन् ।

यस पटकको नेपाली समाज टेक्ससको चुनावमा विगतको जस्तो प्रष्ट रुपमा दलगत प्रभाव भन्दा पनि समाजमा योगदान गरेकाहरुबीच हुने संकेत देखिएको छ । दुवै पक्षले आफ्नो टिमको छनोट गर्दा समाजमा योगदान गरेका, समय अनि स्रोत भएका, भिजन भएकाहरुलाई स्थान दिएका छन् । तर, केही व्यक्तिहरु भने समाजमा कहिल्यै नदेखिएका, मन्दिर र समुदायप्रति चासो नदिएकाहरु पनि देखिएपछि सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ ।

Lahachhap

यसपटकको उमेदवारीमा एउटा गज्जवको संयोग देखिएको छ । मुख्य पदहरुमा जनक भण्डारी प्यानलबाट चारजना भण्डारी थर भएका छन् । अध्यक्ष जनक भण्डारी, वरिष्ठ उपाध्यक्ष चण्डी भण्डारी, उपाध्यक्ष गुञ्जन भण्डारी र युवा तथा खेलकुद संयोजक आदर्श भण्डारी एउटै थरका रहेका छन् । यो संख्या चुनाव हुने पदको २५ प्रतिशत हो ।

उता भुसाल प्यानलबाट अध्यक्ष विजय भुसाल र वरिष्ठ उपाध्यक्ष जीवलाल भुसाल पनि एउटै थरका छन् । दुवै पक्षले यो संंयोग मानेका छन् ।

अध्यक्षका उमेदवार विजय भुसालले भने जीवलालजी र मेरो चिनजान पनि यहीँ अमेरिका आएर भएको हो । हामीबीच कुनै पारिवारिक नातासम्बन्ध केही छैन । चुनावी प्रक्रिया सुरुसँगै ड्यालसमा नेपाली समुदायको चहलपहल, बैठक, चुनावी सरगर्मी बढ्न थालेका छन् ।-रामचन्द्र भट्ट

Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments