चितवन/खोलामा, ताल–पोखरीमा माछा मार्न प्रयोग हुने जालहरू हामीले देखेकै छौँ, तर त्यो जाल कहाँ र कसरी बन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यो जाल बनाउन चाहिने कच्चापदार्थ बाहिरी मुलुकबाट ल्याइएर निर्माण गरिन्छ र स्थानीय बजारमा पठाइन्छ ।
चितवनको नारायणगढस्थित बालकुमारी सब्जी मण्डीका केही सटरमा सञ्चालन हुने माछा मार्ने जाल निर्माणमा बाहिरी श्रमिकको उल्लेखनीय योगदान रहेको छ ।
भारतको बिहार प्रदेशबाट दशकौँअघि रोजगारीको खोजीमा चितवन आएका परिवारहरू अहिले जाल बुन्ने सीपका मुख्य बाहक बनेका छन् । मण्डीका ८–१० सटर र नजिकै पोखरा वसपार्कका केही स्थानबाट श्रमिकको सीप, श्रम र परिवारगत सहभागिताका कारण स्थानीय बजारमा जालको आपूर्ति निरन्तर हुँदै आएको छ । जाल बुन्ने तथा बेच्नेहरूका अनुसार अहिले माछा मार्ने मुख्य याम नभए पनि केही माग रहने भएकाले पेसाकर्मीहरू यस समयमा जाल निर्माणको तयारीमै व्यस्त रहने गर्छन् ।
सानै उमेरदेखि नारायणगढमै जाल बुनेर जीविकोपार्जन गर्दै आउनुभएका ६० वर्षे ललन सहनी भन्नुहुन्छ, “हाम्रा बाबु–बाजेले यही काम गर्नुहुन्थ्यो । मैले त खास जाल बुन्ने सीप कलकत्तामै सिकेको हुँ । म सबै प्रकारका डिजाइनका जाल बनाउन सक्छु ।”
उहाँका अनुसार परिवारका सबै सदस्य यही काममा संलग्न छन् । उहाँका बुवा पनि यही पेसा गरेर बित्नुभयो । उहाँ आफूले पनि ४० वर्ष भयो यो काम गरिसक्नुभयो । माग बढी हुने समयमा दिनमै पाँच वटासम्म पनि बनाएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार एउटा माछा मार्ने जाल रु तीन हजारदेखि तीन हजार ५०० सम्म बिक्री हुन्छ । अबको तीनदेखि चार महिनापछि यसको माग बढी हुने उहाँको भनाइ छ । जाल बनाउन पहिले जस्तै प्राकृतिक धागो वा स्थानीय सामग्री प्रयोग हुन्थ्यो । अहिले धागो रिङलगायतका सामग्री बजारमा सजिलै पाइने भए पनि जाल बुन्ने सीप र मेहनत भने उस्तै जटिल रहेको उहाँको भनाइ छ ।
बालकुमारी मण्डीकै सटरमा जाल बुन्दै आउनुभएका पवन कुमारको परिवार पनि यही पेसामा छ । “बुवाले जाल बुनेको देखेर नै सिकेको हो । जाल बनाउन चाहिने सबै सामान भारतबाट ल्याइन्छ । हामी दाजुभाइ मिलेर यही पेसा गर्दै आएका छौँ”, पवनले सुनाउनुभयो ।
उहाँका अनुसार पसलमा जाल थोक र खुद्रा दुवै रूपमा बिक्री हुन्छ । “तियारी जाल र हान्ने जाल फरकफरक हुन्छन् । आकार र धागोको गुणस्तरअनुसार मूल्य फरक पर्छ”, पवनले बताउनुभयो । हाल उहाँहरुले अनलाइनमार्फत पनि अर्डर लिएर जाल बिक्री गर्दै आएका आउनुभएको छ । दमौली, पोखरा, लमजुङ, गोरखा लगायत स्थानबाट अर्डर आउने र महिनामा रु २–३ लाखसम्मको कारोबार हुने उहाँको भनाइ छ ।
जालकै काम गर्दै आउनुभएका अभिषेक कुमार भन्नुहुन्छ्, “सिजनको मुख्य समय चैतदेखि जेठसम्म हो । अहिले सिजन होइन, त्यसैले पसल खोलेर जाल बुन्ने मात्र काम हुन्छ । अलिअलि ग्राहक आए बेच्ने हो खासै यो समय होइन ।” उहाँले पनि यो सीप आफ्ना बुबाबाटै सिकेको बताउनुभयो ।
उहाँका अनुसार माछा मार्नेहरूको सङ्ख्या केही घटे पनि ताल–फार्म, माछा व्यवसायी तथा स्थानीय उपभोक्ताको मागस्थिर भएकाले जालको माग निरन्तर रहने गर्दछ । जालकै काम गरेर घरखर्च चलिरहेको र अन्य कुनै पेसामा संलग्न नभएको अभिषेकले बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित