दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ/ प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र सम्बद्ध पक्षलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकामा बधाई दिनुभएको हो ।

यो उपलब्धि नेपाली खेलकुदकै लागि ऐतिहासिक र गौरवको विषय भन्दै प्रधानमन्त्री कार्कीले दृष्टिविहीन महिला क्रिकेट टोलीलाई थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । “तपाईँहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण यो उपलब्धि प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको हकदार हुनुहुन्छ । अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस् ।”

प्रधानमन्त्री कार्कीले आफ्नै पहलमा खेलाडीले देखाएको प्रतिभा सराहनीय रहेको उल्लेख गर्दै यसमा सरकारले लगानी गर्न सकेमा अझै प्रगति हुने बताउनुभयो । अब सरकारका तर्फबाट गर्न सकिने सहयोगबारे सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्ने उहाँको प्रतिबद्धता थियो ।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलङ्कामा भएको प्रतियोगितामा दोस्रो भएको हो । उहाँहरूले साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्ने क्षमता रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments