बागमती/ बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले आज सूचना जारी गर्दैै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम यही मङ्सिर ३ गते राति ११ः५९ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो ।
वर्षे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनुभएको प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यलाई जानकारी गराएको छ ।
प्रदेशसभा सचिवालयका सचिव पौडेलले आज सूचना जारी गर्नुहुँदै सभामुख पाठकले गत असोज १ गते उपसभामुख अप्सारा चापागाईलाई सम्बोधन गरी राजीनामा बुझाउनुभएको जानकारी दिनुभएको हो ।
प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशन गरिएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएका सभामुख पाठकले असोज १ गते उपसभामुख चापागाईंलाई लिखित राजीनामा बुझाउनुभएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित