काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएका हवाई उडान ४ घण्टापछि सुचारु भएको छ ।
शनिबार साँझदेखि हवाई उडानहरूमा अवरोध सिर्जना भए । यसका कारण काठमाडौँ आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित भएका थिए ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार आज साँझ ५ः ३० बजेदेखि रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएको हो । तर अहिले समस्या समाधान गरिएको छ । लाइटको समस्याका कारण विमानहरूको अवतरण र उडान दुवै कार्य पूर्ण रूपमा रोकिएका थिए ।
अवरोधका कारण सोल र इन्चनबाट आउने कोरियन एयरको उडान नम्बर केई ६९५ र दिल्लीबाट आउने स्पाइसजेटको उडान नम्बर एसजी ०४१ रद्द गरिएका थिए ।
त्यस्तै, दोहाबाट आउने कतार एयरवेजको उडान नम्बर क्युआर ६४४ लाई ढाका डाइभर्ट गरिएको थियो भने दुबईबाट आउने फ्लाई दुबईको उडान नम्बर एफजेड १५३७ लखनउमा अवतरण गराइएको थियो ।
दिल्लीबाट आउने नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २१८ र शारजाहबाट आउने एयर अरेबियाको उडान नम्बर जीनाइन ५३० लाई भने आकाशमै होल्डमा राखिएको थियो ।
उडान ठप्प हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुहरूले ठुलो असुविधा भोगेका थिए । विमानस्थल खुलेसँगै रोकिएका उडान तालिकाअनुसार सञ्चालन गरिने शेर्पाले बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित