नेपाली गीतसङ्गीतमा उहाँले पुर्याउनुभएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै काठमाडौँमा आयोजित विशेष समारोहमा रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरिएको हो ।
काठमाडौँ / गायक कमल विके ‘निर्मोही’लाई यसवर्षको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार-२०८२’ द्वारा सम्मानित गरिएको छ ।
नेपाली गीतसङ्गीतमा उहाँले पुर्याउनुभएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै काठमाडौँमा आयोजित विशेष समारोहमा रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरिएको हो ।
गायक निर्मोही पछिल्ला वर्षहरूमा मिर्गौला रोगबाट पीडित रहँदा पनि निरन्तर साङ्गीतिक सिर्जनामा सक्रिय हुनुहुन्छ । उहाँका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उहाँलाई सम्मान प्रदान गर्नुभयो । पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारले पुरस्कारको मूल उद्देश्य नेपाली सङ्गीतमा उल्लेखनीय योगदान पुर्याएका अग्रज स्रष्टा र कलाकारलाई जीवनकालमा सम्मान गर्ने रहेको बताउनुभयो ।


चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ले गीतसङ्गीतमा आबद्ध कलाकारलाई दिइँदै आइएको नगद राशिसहितको पुरस्कार प्रेरणादायी रहेको भन्दै प्रशंसा गर्नुभयो । यस्ता सम्मान कार्यक्रमले कलाकारहरूमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्ने काम गर्ने बताउँदै उहाँले कलाकर्मीलाई निरन्तर सिर्जनशील रहन प्रेरणा दिने उल्लेख गर्नुभयो ।
अध्यक्ष डिसीले यस्ता कार्यक्रम हरेक क्षेत्रमा निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतको विकासका लागि योगदान दिनुभएकामा पुरस्कार समितिका संरक्षक कन्हैया सिंह परियार र अञ्जना गुरुङलाई धन्यवाद प्रकट गर्नुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित