काठमाडौँ/ यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्कको पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र सम्पन्न गरेको छ ।
नेपाल–भारतको स्टार्टअप ‘इकोसिस्टम’बीचको अन्तरक्रियालाई वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिने पहिलो ‘इन–स्पान’ कार्यक्रम सन् २०२५ डिसेम्बरमा आइआइटी मद्रासमा सुरु हुने कार्यतालिका रहेको दूतावासले जनाएको छ ।
उक्त कार्यक्रममा नेपालका स्टार्टअपका प्रतिनिधिका लागि आइआइटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आठ हप्ताको प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ । उक्त ढाँचामा प्रशिक्षित हुन चाहने सहभागीका लागि तालिम, परामर्श र इन्टर्नसीप समावेश हुनेछ ।
दूतावासमा भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उक्त पहलको प्रशंसा गर्नुभएको थियो । दूतावास परिसरमा आयोजित उक्त सत्रमा विभिन्न स्टार्टअपहरू, सरकारी विभाग, वाणिज्य सङ्घ, रोबोटिक्स एशोसिएसन अफ नेपाल, एनएएस आइटी, फिनटेक एलायन्स, एआई एशोसिएसन अफ नेपाल र शैक्षिक संस्थाबाट करिब १०० जना सहभागी उपस्थित हुनुहुन्थ्यो ।
वीरगञ्जका तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना सहभागी भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । इलेक्ट्रिकल इञ्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई, आइआइटी मद्रासका प्रमुख वैज्ञानिक प्रो गौरव रैना अनलाइन कार्यक्रममा सामेल हुनुहुन्थ्यो भने आइआइटी मद्रास र आइआइटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमका बारेमा जानकारी दिनुभएको थियो ।
यसअघि सोही त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो जसमा करिब ७० विद्यार्थी सहभागी हुनुहुन्थ्यो । आवेदनको मूल्याङ्कन र उम्मेदवारको अन्तर्वार्ताका आधारमा उक्त कार्यक्रमका लागि छनोट हुने दूतावासले जनाएको छ । आवेदन यही नोभेम्बर १५ गतेसम्म खुला रहनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित