आज हरि बोधिनी एकादशी: घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौँ/ वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिनुभयो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

हरिबोधिनी एकादशी र तुलसी विवाह ! के छ महत्त्व?
– कृष्णकान्त शास्त्री

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष एकादशी तिथिका दिन औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुन्छन्। तर ती सबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ ।

यसरी यी दुई एकादशीको विशेष महत्त्व देखिनुमा विष्णुको दैनन्दिनीको भूमिका देखिन्छ । सनातन धर्मभित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा विष्णुको आराधना हुने परम्परा पाइन्छ । अनि हामी पृथ्वीमा बसोबास गर्ने मनुष्यहरूको एकवर्षको अवधि देवताहरूको केवल एकदिनको अवधि मान्ने चलन समेत छ ।

Lahachhap

सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा प्राप्त हुन्छ। यिनै पौराणिक मान्यता र आख्यानका आधारमा आषाढ महिनामा पर्ने ठूली एकादशीका दिन विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको महत्त्व चुलिएको सकिन्छ ।

हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा तुलसीको मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बद्र्धन गरिने वनस्पति हो, तुलसी । यी दुईवटा एकादशीमा तुलसी पनि गाँसिएको पाइन्छ ।

तुलसीको विरुवामा एक प्रकारको तेल हुन्छ, जुन तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुन्छ । जसबाट घरको वातावरणलाई प्रदूषण हुनबाट जोगाउँछ । जहाँ र जुन घरमा तुलसीको वास र पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ ।

यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै महत्व छ । असारको ठूली एकादशीमा प्रत्येक हिन्दुधर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत विवाह सम्पन्न गरिदिने चलन पनि छ ।

स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थिया े। सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो । त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो । विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले विष्णुलाई श्राप दिईन्।

त्यसपछि विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए । यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन विष्णुले शालीग्राम स्वरुपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो । जुन दम्पतीको छोरी छैन, उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घरआँगनको तुलसीको मठ बनाई तुलसी रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्यप्राप्त हुन्छ र सुपुत्री लाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यी दुबै एकादशीमा नेपालका विभिन्न तीर्थस्थल, देवालय र मठमन्दिरमा मेला लाग्ने गर्दछ । त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोबरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ । आषाढमा पर्ने एकादशीका दिनबाट सुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई, चतुर्मासा व्रत बस्ने चलन पनि छ । चतुर्मासाको अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ ।

कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था समेत गरेका हुन्छन्। ठूलाठूला विद्वान्, सन्त, महन्त, योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आफ्ना आध्यात्मिक उपदेश प्रदान गर्ने गर्दछन्।

चतुर्मासाको अवधिमा केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि बन्द हुन्छ । यस अवधिमा अयोध्या,वाराणसी, वृन्दावन, प्रयाग,सिमरिया, बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ । समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मासा अवधिको ठूलो महत्त्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments