क्यान्सरबारे जनचेतना र बिरामी सहयोगका लागि चिवाभञ्ज्याड–झुलाघाट साइकल यात्रा

क्यान्सरको उपचारपश्चात रोग जितेर जीवनयापन गरिरहेका ‘सर्भाइभर’हरु नै क्यान्सरबारे सचेतना जगाउने काममा जुटि रहेका

काभ्रेपलाञ्चोक/एक समय थियो क्यान्सर भएको थाहा हुने बित्तिकै ‘लौ मेरो सबथोक गयो, अब मर्नुबाहेक अरु विकल्प छैन’ भन्ने आम बुझाई थियो । अझै पनि यो भ्रमलाई चिर्न सकिएको छैन ।

यतिखेर हाम्रै मुलुक नेपालले क्यान्सर उपचारमा फड्को मारिसकेको छ । अङ्ग विशेषका क्यान्सरका समस्या पत्ता लगाउन पहिचान विधिहरु, उपचारका विविध विकल्पहरूमा काम भइरहेका छन् । क्यान्सर अस्पताल तथा विभिन्न संघ संस्थाहरुले क्यान्सर रोकथामका लागि अवलम्बन गर्नुपर्ने जानकारी पनि दिन थालेका छन् ।

अझ पछिल्ला समय त क्यान्सरको उपचारपश्चात रोग जितेर जीवनयापन गरिरहेका ‘सर्भाइभर’हरु नै क्यान्सरबारे सचेतना जगाउने काममा जुटि रहेका छन् ।

यस पटक क्यान्सरसँग सङ्घर्षरत दुई जना ‘सर्भाइभर’ ले साइकल यात्रामार्फत मेचीदेखि महाकालीसम्मका नेपालीहरुमाझ क्यान्सर सचेतना जगाउने अठोट लिएका छन् ।

Lahachhap

पूर्व–पश्चिम मध्य पहाडी लोकमार्गको पाँचथर चिवाभञ्ज्याडबाट सुरु भई बैतडीको झुलाघाट पुगेर साइकल यात्रा समापन गर्ने लक्ष्यमा होमिएका हुन्‌–क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामा र स्तन क्यान्सरको तेस्रो चरणबाट उठेकी कविता चित्रकार ।

यो यात्राका लागि साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकाय गरिरहेको छ । सन् २०२६ जनवरी १ मा पाँचथर चिवाभञ्ज्याडबाट सुरु भई पूर्व–पश्चिम मध्य पहाडी लोकमार्ग हुँदै बैतडी झुलाघाट पुगेर अन्त्य गरिने यस साइकल यात्राको नेतृत्व पनि लामाले गर्दै छन् ।

क्यान्सरबारे जनचेतनाका साथै क्यान्सरका बिरामीलाई उपचार कोष जुटाउने यो साइक्लिङ अभियानलाई डा. तारालाल श्रेष्ठले संयोजन गरिरहेका छन् । यस्तै काठमाडौं विश्वविद्यालय–धुलिखेल अस्पतालका प्राडा. सुमनराज ताम्राकार र हाडजोर्नी विभागका डा. विकास पराजुलीलगायतको समूहले मेडिकल सहयोग गर्ने टीम बनाएको छ ।

Lahachhap

नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मको कूल १ हजार ८ किलोमिटर दुरी पार हुने उक्त साइकल यात्राको क्रममा उकाली र ओराली गर्दा ५२ हजार मिटर उचाई हासिल हुनेछ । यात्राकै दौरान मेचीदेखि महाकालीका साइकलप्रेमी तथा सहयोगीहरु यात्रामा जोडिने छन् । एक महिनासम्म जारी रहने यस साइकल यात्रामा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिने छ । कतिपय स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने प्रेस संयोजक ताम्राकारले जानकारी दिए ।

स्थानीय संघसंस्थाले आफ्‌नो क्षेत्रमा विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गर्न सक्ने डा. श्रेष्ठको भनाई छ, ‘जो कोहि व्यक्ति सहभागी भई यस यात्रालाई उत्सवमयी बनाउन र आफ्‌नो गक्ष्य अनुसार कोषमा मुष्ठीदान सहयोग गर्न सक्ने छन्। यस साइकल यात्राबाट प्राप्त रकम क्यान्सर बिरामी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने छ ।’

नेपालमा वार्षिक २२ हजार भन्दा बढी क्यान्सर रोगी थपिने गरेको अध्ययनले देखाएको छ । जसमध्ये वर्षेनी क्यान्सरबाट करिब १५ हजार नागरिकले मृत्युवरण गर्दछन् । पछिल्ला समयमा आएका उपचार पद्धतिको विकासले अधिकांश क्यासर रोकथाम वा उपचार योग्य मानिन्छ ।

Lahachhap

यति हुँदाहुँदै पनि क्यान्सरले यति ठूलो संख्यामा वर्षेनी मानिसको ज्यान लिइरहेको देखिन्छ । बेलैमा निदान हुन सके कम खर्चमा उपचार हुने भए पनि रोग बल्झँदै जाँदा धेरै नै उपचार खर्च लाग्ने भएकाले आम नेपाली गरीबीतर्फ धकेलिएका दृष्टान्तहरु रहेका छन् ।

डा. श्रेष्ठका अनुसार नेपालमा क्यान्सर पीडितले आवश्यक हेरचाह पाउन कठिन देखिने अवस्था रहेकाले साइकल यात्राले सचेतनाका साथसाथै नीति निर्माणमा समेत टेवा पुर्याउने छ भने साइकल यात्रा नेपालका लागि नमुना कार्य बन्न सक्छ ।

‘साइकल यात्राले आगामी दिनमा कोष स्थापना, सहकार्यगत एकता तथा ‘प्यालिएटिभ केयर’ लाई सघाउँदै आम नागरिकमाझ क्यान्सरपछि जीवन साहसिक, उद्देश्यपूर्ण र आशावादी जीवन जीउन मार्गनिर्देश गर्नेछ’, डा. श्रेष्ठले थपे ।


Lahachhap

सन् २०२० मा हर्क लामाको पिसाब थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा पनि उनले पहिलेझै सक्रिय साइक्लिङलाई निरन्तरता दिएका थिए । क्यान्सर उपचार पश्चात पनि साइकल प्रतियोगिताहरु जित्दै आइरहेका उनी अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा समेत सहभागी भइरहन्छन् ।

अफ्रिकामा आयोजित संसारकै सबैभन्दा विशाल साइकल प्रतियोगिता ‘केप एपिक’–२०२५ मा सहभागी भएका उनी नेपालका उच्च हिमालहरुमा साइक्लिङ टुर गर्ने एक अगुवा साइक्लिस्ट हुन् । सन् २०१६ देखि निरन्तर साइकल प्रतियोगिताहरुमा सहभागी उनी क्यान्सरसँग सामना गर्दै राष्ट्रिय प्रतियोगिताहरुदेखि ‘याक एटेक’ जस्ता साहसिक अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा विजयी बन्दै आएका छन् ।

Lahachhap

स्तन क्यान्सरको तेस्रो चरणबाट उठेर साइकलमार्फत सक्रिय सकारात्मक जीवनशैली अपनाई आएकी कविता चित्रकार पनि लामासँगै उक्त साइकल यात्रामा सहभागी हुनेछिन् । उनी संसारकै उच्चतम हिमालमा आयोजना गरिने अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता याक एटेक–२०२५ मा सहभागी भइ अन्नपूर्ण सर्किटको ‘थोराङ्ला पास’ यात्रा सम्पन्न गरेकी थिइन् । नेपाली महिला साइकल समुदाय माझ कविता चित्रकार एक नमुना साहसिक नवसाइक्लिस्टको रुपमा परिचित छिन् ।

जन्मदिने आमा र दिदी दुबै उनको काखमै क्यान्सरका कारण वितेको यथार्थ भोगेकी कविताले आफू पनि क्यान्सरको अन्तिम स्टेजमा पुगेको यथार्थ सामना गर्न असमर्थझै बनेको अवस्थामा साइकलको सहाराबाट नयाँ जीवन पाएको बताउँदै आएकी छिन् । साइकल मार्फत कविताको जीवनमा देखिएको परिवर्तनबाट उनको उपचारमा संलग्न चिकित्सकहरु समेत उत्साहित छन् ।

नियमित साइक्लिङलाई नै जीवनको सबैभन्दा अमूल्य जीवनशैली बताउँदै आएकी उनी यस यात्रामार्फत क्यान्सरसँग संघर्षरत मानिसलाई सक्दो सहयोग जुटाउन उत्सुकताका साथ सहभागी हुँदैछिन् । बाँकी जीवन आफूमा जस्तै अरुमा पनि सकारात्मक उत्प्रेणा भर्न उनी यस साइक्लिङ यात्राप्रति समर्पित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
2 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments