वन संरक्षणमा खुमबहादुरका दुई दशक

कैलाली/कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये यहाँको भजनी नगरपालिका-२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनीक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबीचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय बिताउनुभएको छ ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । गाउँ, सहरमा मात्र नभएर जिल्लाभरि उहाँले वन संरक्षणमा पुर्‍याउनुभएको भूमिकाको चर्चा हुने गरेको छ ।

उमेरले ७० वर्ष पार गरिसक्नुभएका खुमबहादुरले आफ्नो जीवनलाई प्रकृतिसँगको अनन्त सम्बन्धमा समर्पित गरिसक्नुभएको छ । उहाँले जीवनको सुरुवातमा ड्राइभरको पेसा अपनाउनुभयो । करिब २८ वर्षसम्म गाडी चलाउनुभएका उहाँले एक पटक डडेलधुरामा डिभिजन वन कार्यालय प्रमुख (डिएफओ)सँगको यात्राले जीवनको मार्ग बदलेको बताउनुभयो ।

“यात्रा गरिरहँदा रेडियोमा सामुदायिक वनको चर्चा चलिरहेको थियो । त्यही क्षणमा सामुदायिक वन भनेको के हो ? भनेर प्रश्नमा आएको उत्तरले वन संरक्षणप्रति चासो जागाएको हो”, खुमबहादुरले भन्नुभयो ।

विसं २०५० मा भजनीमा गाउँ विकास समितिमा सामुदायिक वनका लागि सहपाठीलाई निवेदन दर्ता गर्न भनी खुमबहादुर आफ्नो पेसाका लागि भजनी घरबाट धनगढी फर्कनुभयो । उहाँलाई बोलाउन उहाँका सहपाठी धनगढी पुगेपछि उहाँ फर्कनुभयो । सुरुमा सल्लाहकारका रूपमा संलग्न हुनुभयो । भजनी क्षेत्रभरिका अन्य वनमा खटिएको अनुभवले उहाँलाई थप जिम्मेवार र तयार बनायो ।

विसं २०५८ मा खुमबहादुरको पहलमा राधाकृष्ण, पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भएका थिए । उहाँ राधाकृष्ण सामुदायिक वनको अध्यक्ष हुनुभयो, त्यसपछि सुरु भयो खुमबहादुरको वन संरक्षणको यात्रा । “गाउँ, टोलटोलमा गएर मानिसलाई वन संरक्षणको महत्त्व बुझाउने काम सजिलो थिएन । धेरैले पहिलो पटक वन संरक्षणको कुरा सुन्ने हुँदा शङ्का देखाउँथे । तर धैर्यता, सरलता र लगनशीलताले विश्वास दिलाउन सके सफल भइँदो रहेछ”, खुमबहादुरले भन्नुभयो ।

विसं २०५६ मा राधाकृष्ण सामुदायिक वनको प्रस्तावित अध्यक्ष हुनुभएका उहाँ २०५८ सालमा वन दर्ता भएपछि हालसम्म अध्यक्ष हुनुहुन्छ । “बीचमा दुई जना अध्यक्ष आउनुभएको थियो”, उहाँले भन्नुभयो, “तर गाउँलेले फेरी मलाई नै अध्यक्ष बनाउनुभयो ।”

खड्काको जीवनमा चुनौती कम थिएनन् । “सङ्कटकालको समयमा, अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मर्यो भनेर छोडिदिए । त्यो दिन मेरो शरीरले सक्दैन जस्तो लाग्यो । सबै भागे तर म भागिनँ । मेरो जिम्मामा वन थियो, त्यसलाई छोड्न सकिनँ”, उहाँले सम्झनुभयो ।

खुमबहादुरको दिनचर्या घरमा बित्दैन । उहाँलाई खोज्न परे वनमा जानुपर्छ । बर्सेनि वृक्षारोपण गर्ने, वन क्षेत्रमा निगरानी गर्ने र स्थानीय समुदायलाई वन संरक्षणमा संलग्न गराउने काम उहाँका लागि जीवनको अभिन्न हिस्सा बनेको छ । उहाँले भन्नुभयो, “म पैसा कमाउन आएको थिएन, मनको सन्तुष्टि पाउन वनसँग जोडिएको हुँ ।”

उहाँको योगदान केवल राधाकृष्ण सामुदायिक वनमा सीमित छैन । भजनी, लालबोझि, खैलाड, थापापुर र जोशीपुरका गाउँ–टोलमा पनि उहाँका प्रयासले समुदायलाई वन संरक्षणको महत्त्व बुझाएको छ । अहिले भजनीमा ४३ वटा सामुदायिक वन दर्ता भइसकेका छन् । यसका लागि खुमबहादुरको भूमिका अमूल्य रहेको स्थानीय बताउँछन् । गाउँले उहाँसँग धेरै समय जङ्गलमा भेट्छन् । अतिथि आउँदा पनि जङ्गलमै लगेर खुमबहादुर वृक्षारोपण गराउनुहुन्छ ।

स्थानीय अर्जुन सोवले भन्नुभयो, “हामीले वन संरक्षणको महत्त्व उहाँबाटै बुझ्यौँ । उहाँ हाम्रो गुरु हो । उहाँ नभए वन यति सुरक्षित हुदैनथ्यो ।” खुमबहादुरले वन संरक्षण र व्यवस्थापनका लागि विभिन्न पाटो अपनाउनुभएको उहाँको बुझाइ छ ।

पानीको स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका स–साना बाँध, ढलान र तालले वनलाई अधिक जीवन्त बनाएका छन् । वृक्षारोपणमा मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि उहाँ अघि बढ्नुभएको छ । वनमा लोहटिवा ताल छ । तालमा वन्यजन्तु पानी खानका लागि आउने गर्दछन् । ताललाई पर्यापर्यटनसँग पनि जोडिएको छ । जसलाई व्यवस्थापन गरी पिकनिकस्थल, बोटिङ सञ्चालन गरिएको छ । अतिक्रमण हटाइ व्यवस्थापन गरिएको ताल अहिले पर्यटकको नयाँ गन्तव्य बनेको छ । संरक्षणसँगै पर्यापर्यटनलाई अघि बढाइरहेको खुमबहादुरले बताउनुभयो ।

संरक्षणमा बिताएको उहाँको जीवनले अन्तरराष्ट्रिय ध्यान पनि खिच्यो । निरन्तर प्रयास र योगदानका कारण उहाँलाई सन् २००३ मा ‘अब्राहम अवार्ड’ प्रदान गरियो । त्यो पुरस्कारले उहाँको नाम मात्र होइन, गाउँ र देशलाई पनि गौरवान्वित बनाएको छ । पुरस्कारको दिनको सम्झना गर्दै उहाँले भन्नुभयो, “त्यो मेरो व्यक्तिगत जित होइन, त्यो त हाम्रो वनको जित हो ।”

खुमबहादुरसँग कुरा गर्दा उहाँको आँखामा वनप्रतिको माया स्पष्ट देखिन्छ । आज पनि राधाकृष्ण वनमा वृक्षारोपण, वृक्षको सुरक्षा, माटो संरक्षण र वन्यजन्तुको संरक्षणका कार्यक्रम खुमबहादुरको नेतृत्वमा सम्पन्न हुन्छ । उहाँको उमेर आराम गर्ने भइसकेको छ । उहाँले भन्नुभयो, “जिन्दगीले मलाई वनसँग बाँधिदियो । जबसम्म सास छ, यो बन्धन छुट्दैन ।”

उहाँले वन देखाउँदै भन्नुभयो, “पहिले यो ठाउँ रुखविहीन थियो । तर आज हेर्नुस्, सबै फिर्ता आएका छन् ।” उहाँका आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन ।-इन्द्राकुमारी केसी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments