काठमाडौँ / राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनुभएको छ ।
अन्तर व्यवस्थापिका सङ्घ (आइपियू)को १५१औँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका अध्यक्ष दाहाल र अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डलसँग आज भएको भेटवार्तामा उहाँले नेपालमा जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन र चुनाव घोषणा भएको जानकारी गराउनुभएको थियो ।
त्यसक्रममा उहाँले भारतसँगको सम्बन्ध औपचारिक र देशबीचको मात्रै नभई जनता–जनताबीचको सम्बन्ध बलियो रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग पनि भेट गर्नुभएको छ । सो भेटमा उहाँले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताउनुभयो ।
यसैबीच, अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर, नवीकरणीय ऊर्जाको विकास र स्थानीय सुशासनलगायत क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । अष्ट्रेलियाका सभामुख मिल्टन डिकसँगको द्विपक्षीय भेटवार्तामा उहाँले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदानप्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गर्नुभयो ।
अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीच विविध क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित