कञ्चनपुर/सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।
दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिंगो टोल शोकमय बनेको छ ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगिन्, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन् । केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलिएकी जोशी परिवारको भनाइ छ ।
“बहिनी पुष्पा यसपाली भाइटिकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्”, परिवारका सदस्य किशोर जोशीले भने, “लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।” दुई वर्षदेखि विपिन आउने प्रतीक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैनन् ।
बहिनी पुष्पाको भाइटिका लगाउने सपना अधुरै
दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यस पटकको भाइटिका लगाउन पाउँ । तर त्यो सपना पूरा भने हुन सकेन । दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन् ।
यस पटक पनि तिहारमा भाइटिका लगाउने ठुलो आशा बोकेर उनी आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेर हर सम्भव प्रयास गरे । विडम्बना बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेका बेला विपिन अस्ताएको दु:खद् खबर सुन्नपर्यो । हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकै दिन घरमा पुग्दा गाउँमै सन्नाटा छाएको छ ।
विपिनको शव आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य किशोरले जानकारी दिए । “भाइ फर्किने ठुलो आशा थियो”, उनले भने, “तर सबै सपनामाथि बज्रपात भएको छ । बोल्ने र भन्ने शब्द नै रहेन ।”
सोमबार दिउँसो काठमाडौँ पुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्याइएको थियो । उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका किशोरले जानकारी दिए । उनका अनुसार विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने छ ।
इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।
इजराइल गएको ४ सातामै आक्रमणमा परे
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान सङ्कायमा अन्तिम सेमिस्टारमा अध्ययनरत उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत २०८० साल भदौ २६ गते उनी इजरायल गएका थिए।
इजराइलको प्यालेष्टाइनको कब्जामा रहेको गाँजा क्षेत्र नजिकै इजरायलको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा नेपाली १७ जना विद्यार्थी कार्यरत थिए।
हमास लडाकु समूहले आक्रमण गरेपछि बङ्करमा लुकेर बसेका विद्यार्थी माथि लडाकुहरू बङ्कर भित्रै पसेर ग्रिनेड र गोली प्रहार गरेका थिए। १७ जना विद्यार्थी मध्य १० जना विद्यार्थीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। भने विपिन सम्पर्क विहीन भएका थिए।
एक भिडिओमा गाजामा अस्पताल लगिँदै गरेको अवस्थामा विपिन जोशी देखा परेपछि उनी अपहरणमा परेको पुष्टि भएको थियो।
मारिनेमा ८ जना सुदूरपश्चिमकै
इजराइलमा सुनौलो सपना बोकेका ११ विद्यार्थीले हमासको आक्रमणमा परेर ज्यान गुमाएका छन्। ती मध्य ८ जना सुदूरपश्चिमकै रहेका छन्। जिउँदो आउने झिनो आशा रहेका विपिनको शव पुगेपछि सुदूरपश्चिम प्रदेश पुरै शोकमा डुबेको छ।
कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेष्टरका उनीहरु १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो।
कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो। आर्थिक विपन्न परिवार र मध्यम परिवारमा दुःखगरि हुर्के पढेका विद्यार्थी सुनौलो भविष्यको सपना साँचेर इजरायल गएको ४ साता हुन नपाउँदै हमास लडाकुको कहालीलाग्दो आक्रमणको सिकार हुन पुगे।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित