पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्छः पूर्वउपसभापति श्रेष्ठ

पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुर / नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताउनुभयो ।

कांग्रेसमा शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अरूले त्यस्तो अग्रसरता देखाउन नसकेको पूर्वउपसभापति श्रेष्ठको भनाइ थियो । विगतका आठ राजनीतिक दल मात्रै हैन, अब नयाँ राजनीतिक दललाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । “अग्रजहरुलाई निषेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

पूर्वउपसभापति श्रेष्ठले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सक्दो सहयोग गर्ने बताउनुभयो । “विगतको असन्तुष्टिको जिम्मेवारी दलहरूले लिनुपर्छ, मुलुक र राष्ट्रियतालाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले वर्तमान समस्याको समाधान राजनीतिक दलहरूभित्रबाटै समाधान गर्नुपर्छ भन्दै निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्छ भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments